पारुले ल्याइन् तिम्रो तृष्णा


गायिका पारु राई एक दशकपछि पुनः आफ्नो सांगीतिक कोसेली तिम्रो तृष्णा लिएर दर्शक स्रोतामाझ आएकी छन्। एक दशकअघि प्यास नामक गीति एल्बमबाट सांगीतिक यात्रा शुरू गरेकी राईको यो गीतमा उनलाई भ्वाइस अफ नेपालका फाइनलिस्ट विकास लिम्बूले साथ दिएका छन्।

गीतमा शब्द रचना गायिका स्वयंको रहेको छ भने संगीत गायक तथा संगीतकार तारा प्रकाश लिम्बूले भरेका छन्। गीतमाथि आकर्षक म्युजिक भिडियो पनि निर्माण गरिएको छ। युके र नेपालका विभिन्न सुन्दर तथा रमणीयस्थलमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा छांयाकन, सम्पादन एवं निर्देशन कुशल श्रेष्ठले गरेका छन्। नेपालतर्फ भाग सुरज तामाङले निर्देशन गरेका छन्। गीतको म्युजिक भिडियोमा मण्डल थेवे, पारु राई, विकाश लिम्बू र वृक्षा लिम्बूले अभिनय गरेका छन्।

टिकटकमा समेत राम्रो फलोअर्स कमाएका मण्डल थेवेले टिकटकमा प्रायः गोर्खा भर्तीसम्बन्धी जानकारी एवं सन्देशमूलक भिडियो हालेर चर्चामा रहने गरेका छन्। नेपालमा रहँदा नै संगीतको आधारभूत शिक्षा लिएकी गायिका राईले आफ्नो पारिवारिक जिम्मेवारीको कारण आफ्नो सांगीतिक यात्रालाई औपचारिक रूपमा निरन्तरता दिन नसके पनि तीन वर्षयता द लन्डन कलेज अफ म्युजिकअन्तर्गत क्लासिकल पियानोसम्बन्धी कक्षा लिइरहेको बताइन्।

प्रवासमा रहेर आफूलाई मन पर्ने पेसा अंगाल्नका लागि सोचेजस्तो सहज नभएको पनि परिवारको सहयोगले निरन्तर सांगीतिक क्षेत्रमा लाग्न बल मिलेको उनको भनाइ छ। पाँचथरमा जन्मी हाल बेलायतमा पल्टने जीवन बिताइरहेकी पारु ९ वर्षदेखि स–परिवार बेलायत बस्दै आएकी छन्।