प्रेमध्वजको सम्झनामा टाढा भई गयौ फेरि


मखमली स्वरका धनी ख्यातिप्राप्त गायक प्रेमध्वज प्रधानलाई समर्पण गर्दै उनको स्मृतिमा उनैले गाएको गीतको ट्रिब्युट भर्सन म्युजिक भिडियासहित सार्वजनिक गरिएको छ।

मंगलबार परेको गायक प्रधानको १३औं दिनको पूण्य तिथिमा उनको आत्माको चीर शान्तिको कामना गर्दै सारेगम लिल च्याम्प र ग्यालेक्सी फोरकेले प्रेमध्वजको सदावहार गीतमध्येको टाढा भई गयौ फेरि सारा बन्धन तोडीको ट्रिव्युट भर्सन म्युजिक भिडियोसहित सार्वजनिक गरेको हो। घुम्तीमा नआउ है गायक प्रधानको यो गीत विभिन्न गायक गायिकाले गाएका छन्।गायक तथा संगीतकार प्रेमध्वजले यो गीत २०४७ सालमा रिलीजमा आएको फिल्म मायालुका लागि गाएका थिए। कुसुम गजमेरको शब्द रचना रहेको यो गीतमा रणजीत गजमेरले संगीत दिएका थिए। हालै रेकर्ड गरिएको यो ट्रिब्युट गीतमा उदेश श्रेष्ठ, धर्मेन्द्र सेवान, निशा देसार, टीका प्रसाईं, सिडी विजय अधिकारी र आयुष केसीले स्वर भरेका छन्। गीतको म्युजिक भिडियोको शुरूमा प्रेमध्वज प्रधान र उनको सांगीतिक जीवनबारे पारिएको छ। प्रेमध्वजको संक्षिप्त जीवनीमा सागर महर्जनको शब्द तथा क्रान्तिशिखा धितालको वाचन रहेको छ।

गीतको म्युजिक भिडियोमा गायक गायिकाहरूलाई नै फिचर्ड गरिएको छ। उदेश श्रेष्ठले रेकर्ड गरेको गीतको भिडियोमा एलिन श्रेष्ठको निर्देशन तथा राम तामाङको सम्पादन रहेको छ।गायक तथा संगीतकार प्रधानको गत वैशाख २३ गते उपचारका क्रममा सुन्धाराको बागदरबारस्थित काठमाडौं न्युरो एन्ड जनरल अस्पतालमा हृदयघातका कारण निधन भएको थियो।

संसारभरका कलाकारका लागि सपनाको नगरी मानिने बलिउडमा पुगेर अवसरमाथि अवसरलाई त्यागेर नेपालको मायाले स्वदेश फर्केर आप्mनै देशको गीत–संगीतमा सक्रिय प्रधानले करियरलाई अगाडि बढाउने क्रममा गीत रेकिर्डिङका लागि मुम्बई पगेको बेला फिल्म फेयर अवार्ड समारोहमा भ्वाइस अफ नेपालको उपनामसँगै ठूलो प्रशंसा पाएका थिए। प्रेमध्वले जीवनभर मखमली स्वरबाट गीत गाएर गीत–संगीतको क्षेत्रको पूजा गरेका थिए। उनले आफ्नै जीवन कालमा ७ सय ५० भन्दा बढी गीत गएका थिए। ८४ वर्षीय उनले आधुनिकदेखि फिल्मीसम्म, नेवारीदेखि नेपालीसम्म, लोकशैलीदेखि भक्ति गीतसम्मलाई मखमली स्वरले सजाएर नेपाली गीत संगीतको क्षेत्रमा कालजयी गीत दिँदै आएका थिए।