निर्माता बजगाईंद्वारा अक्सिजनसहित १० बेडको आइसोलेसन स्थापना


हेटौंडा, (नेस)।

फिल्म निर्माता ताराचन्द्र बजगाईं (निशान) ले पूर्वी मकवानपुरको बकैया गाउँपालिकास्थित हात्तीसुँडेमा अवस्थित सामुदायिक स्वास्थ्य इकाइमा अक्सिजन र स्वास्थ्यकर्मीसहित १० शय्याको आइसोलेसन वार्ड स्थापना गरेका छन्। आफू जन्मे—हुर्केको स्थानीय क्षेत्रमा कोरोना भाइरसको दोस्रो लहरले संक्रमित र मृत्युदर वृद्धि भएका कारण उनले उक्त सहयोग गरेका हुन्।

आइसोलेसन सञ्चालनका निम्ति १० शय्या र ५ थान अक्सिजन सिलिन्डर, सेनिटाइजर, मास्क तथा अन्य स्वास्थ्य सामग्रीका लागि करिब ३ लाख बराबर सहयोग गरिएको उनले बताए। आइसोलेसन वार्ड सञ्चालनका लागि वडा–३ का अध्यक्ष दिलबहादुर बोम्जन र जयबकैया कन्स्ट्रक्सन टिमले विशेष पहल गरेको थियो। बकैया गापा अध्यक्ष दामोदर खनाल, वडाअध्यक्ष बोम्जन, बकैया स्वास्थ्य संयोजक फटिकरमण प्याकुरेल, प्राथमिक स्वास्थ्य चौकीका डा. युवराज पाण्डे, सामुदायिक स्वास्थ्य इकाई प्रमुख कृष्ण लामालगायतको सहभागितामा आइसोलेसन हस्तान्तरण गरिएको छ।बकैया गाउँपालिकाको हात्तीसुँडेमा हेटौंडापछि पूर्र्वी मकवानपुरमा पहिलोपटक अक्सिजनसहित आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको हो।

आइसोलेसन वार्ड सञ्चालनका लागि आवश्यकतानुसार स्वास्थ्यकर्मीको व्यवस्था गरिने जनाउँदै बजगाईंले वार्ड सञ्चालनको लागि स्वास्थ्य सामग्री सहयोग गर्नेलाई धन्यवाद व्यक्त गरेका छन्। हात्तीसुँडे सामुदायिक स्वास्थ्य इकाईमा हाल चार जना स्वास्थ्यकर्मी कार्यरत छन्। निर्माता बजगाईंको यो उदाहरणीय कार्यप्रति कलाकारहरू दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा र केदार घिमिरेले बधाई दिएका छन्। बजगाईंले निजी खर्चमा आफू जन्मेको ठाउँमा १० बेडको अक्सिजनसहितको आइसोलेसन वार्ड सञ्चालन गरेकोमा उनीहरूले खुशी व्यक्त गरेका छन्।

‘नकारात्मक समाचारहरू त छ्यासछ्यास्ती हेर्न र पढ्न पाइन्छ। यसैबीच, छक्का पन्जा टिमका निर्माता निशान बजगाईंले आफ्नो निजी खर्चमा आफू जन्मेको ठाउँमा अक्सिजनसहित १० बेडको आइसोलेसन वार्ड सञ्चालन गरेको सुन्दा खुशी लागेको छ’ हास्यअभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन् ‘जो—जो सक्षम छ, सानै भए पनि यसरी नै काम गर्ने हो भने राज्यको मात्रै मुख ताक्नै पर्दैनथ्यो कि?’अर्का हास्य अभिनेता केदार घिमिरेले पनि फेसबुकमा स्ट्याटस लेख्दै देशमा कोभिड संकटका बेला आफ्नो निजी खर्चमा अक्सिजन सहितको आइसोलेसन वार्ड स्थापना गरेकोमा बजगाईंलाई बधाई र धन्यवाद दिएका छन्।