विश्वका कथाहरूको उत्सव भन्ने नाराका साथ बिहीबारबाट नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करण शुरू भएको छ।नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान तथा यस निफका अध्यक्ष केपी पाठकको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले महोत्सवले विभिन्न देशबीच आत्मीय सम्बन्ध राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले कोरोना महामारीका बीच महोत्सवको विभिन्न प्यानलमा गहन छलफल गरी नेपाली फिल्म, बजार र समाजबारे ठोस निचोड एवं निष्कर्ष निकाल्न आग्रहसमेत गरे। कार्यक्रमका विशेष अतिथिका रूपमा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुुयाँलले यो क्षेत्रलाई सरकारी योजनाभित्र पार्न सक्दो पहल गर्न प्रतिबद्धता व्यक्त गरे। ख्यातिप्राप्त फिल्मकर्मी नीर शाहले फिल्मलाई अत्यन्तै नजिकबाट समाजसँग जोड्न निफको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे। अन्तर्राष्ट्रिय फिल्म सोसाइटी फेडरेसनका अध्यक्ष पोर्चुगलका ज्वाओ पाउलो मसेदोले निफको अघिल्लो कार्यक्रममा जुरी रहँदा आफूले नजिकबाट नेपाली फिल्मबारे बुझने अवसर पाएको बताए। फिल्मकर्मी तुलसी घिमिरेले निफको कार्यक्रमहरू फलदायी र समय सान्र्दर्भिक रहेको बताए।
वृत्तचित्र र लघु फिल्म प्रतिस्पर्धाकी प्रमुख निर्णायक भारतकी फजिया फातिमा, चलचित्र विकास बोर्डका सदस्य सचिव महेन्द्र शाखी, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलालगतायतले पनि आफ्नो भनाइ राखेका थिए।भर्चुअलरूपमा चलिरहेको महोत्सवमा बलिउड फिल्म लेखक, निर्माता, अभिनेता र सम्पादक अनुराग कश्यपले आफ्नो अनुभव सुनाए। आफू पटक—पटक नेपाल आएको र नेपालका हिमश्रृंखलाबाट प्रभावित भई सुटिङको योजनासमेत बनाएको जनाउँदै उनले लण्डनमा रहँदा डीभीडीबाट नेपाली फिल्म हेर्ने गरेको तथा पछिल्लो समय कालोपोथी र सेतो सूर्य हेरेको बताए।महोत्सवको दोस्रो दिन शुक्रबार फिल्म उद्योगले दिलाएको रोजगारको अवसर तथा सामाजिक रूपान्तरण विषयक अन्तक्र्रिया सम्पन्न भयो। जुममार्फत सञ्चालित कार्यक्रममा ख्यातिप्राप्त हाँस्यव्यंग्यकार हरिवंश आचार्यले फिल्म क्षेत्रमा बौद्धिक कपिराइटको संरक्षण गर्नुपर्नेमा जोड दिँदै यस क्षेत्रमा काम गर्नेहरूको उचित बिमाको व्यवस्था गरिदिन सरकारलाई आग्रह गरे।
नीर शाहले फिल्म क्षेत्रमा रोजगारीको सिर्जना र विकास कसरी गर्नेलगायतका विषयमा गहन अध्ययनबिना शुरू भएको उद्योगले थोरै मात्रामा भए पनि श्रमशक्ति स्थापित गर्न सफल भएको बताए। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले फिल्मकर्मीलाई दक्ष बनाउन एवं विश्व बजारमा प्रतिस्पर्धा गर्न सिनेमा शिक्षालाई व्यावसायिक बनाउन जरुरी रहेको बताए। कलाकारहरू वसुन्धरा भुसाल, सुरक्षा पन्त, सामाजिक सुरक्षा कोषका निर्देशक कमलमणि ज्ञवाली, अर्थशास्त्री डा. विश्व पौडेल, पूर्वसचिव चन्द्र घिमिरेलगायतले आफ्नो धारणा राखेका थिए।तेस्रो दिन शनिबार निर्माता, निर्देशक एवं लेखक प्रताप सुब्बाले फिल्म श्रेत्रका अनुभव सुनाए। परालको आगो, बाँच्न चाहनेहरूजस्ता सुपरहिट फिल्म दिएका सुब्बाले त्यो समयमा फिल्म जगत्मा दुःख भएको सम्झना गरे।उनले त्यस समयमा सीमित श्रमशक्ति, पुँजी र प्रविधिको अभावका बीच धेरै कलाकारको विकास गर्न सफल भएको बताए। फिल्मबाट पैसा कमाउन भन्दा पनि विकाश र विस्तार गर्नु नै आफ्नो मुख्य उद्देश्य भएको उनको भनाइ थियो। ‘त्यो बेला फिल्महरूबीच स्वस्थ प्रतिस्पर्धा थियो। राम्रा फिल्म निमार्ण हुन्थे। तर, आज अस्वस्थ प्रतिस्पर्धा भई अनावश्यक राजनीतिक हस्तक्षेप भएको छ’ सुब्बाको भनाइ थियो।
महोत्सवको चौथो दिन आइतबार कलाकारले नेपाली सिनेमा संस्कृति भनेकै थियटर संस्कृति भएको चर्चा गरे। कोरोनापछिको नेपाली फिल्म विषयक अन्तक्र्रियामा निर्माता अर्जुन कुमारले कोरोनाका कारण फिल्मका सबै क्षेत्र मारमा परेकाले हलबाहेक अन्य विकल्प खोज्नुपर्ने बताए। नेपाल टेलिभिजनलगायतका सरकारी निकायबाट फिल्म हेर्ने सजिलो माध्यम बनाइनु पर्नेेमा उनको जोड थियो। नेट टिभीका सञ्चालक मनोज अग्रवालले कोरोनाको महामारीको समय फिल्म क्षेत्रका लागि अवसरमा बदल्न सकिने बताए। नेटफिलिक्स, एमाजोनको उदाहरण दिँदै अब नेपाली फिल्म डिजिटल प्रविधिबाट अगाडि बढाउन सकिने उनले बताए।नायिका तथा निर्मात्री रेखा थापाले डिजिटल प्ल्याटफर्म वैल्पक उपाय भए पनि नेपालको सबै भूगोल र जनतासम्म पुग्न नसक्ने हुँदा हाललाई उपयुक्त नहुने बताइन्। निर्माता, निर्देशक, प्रदर्शक एवं अभिनेता अशोक शर्माले सिनेमा कल्चर भनेकै थियटर कल्चर भएको बताए। उनले २२ सिनेमा हल बन्द भएको र मल्टिप्लेक्सहरू टिक्ने अवस्था नभएको बताए।
प्रतिक्रिया