शेयर बजारमा ‘होली’ लाग्यो समग्र बजार पुँजीकरण ३५ खर्बभन्दा बढी



नेपाल समाचारपत्र, काठमाडौं ।

शेयर बजार सोमबार ‘होली’ लागेको छ । रङको पर्व होलीजस्तै सोमबार रङ्गीन भएको हो । साताको दोस्रो दिनमात्रै खुलेको नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसूचक ५ दशमलव ४५ अंकले घटेर २५४३ दशमलव ५२ बिन्दुमा झरेको छ । सोमबार ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शून्य दशमलव ३९ अंकले घटेर ४४९ दशमलव ९२ बिन्दुमा झरेको छ । यस दिन कुल २०९ कम्पनीको ९१ लाख ३८ हजारभन्दा बढी कित्ता शेयर ४ अर्ब ४१ करोड ३ लाख रुपियाँमा कारोबार भएको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीको समग्र बजार पुँजीकरण ३५ खर्ब १२ अर्ब ७० करोड ६३ लाख रुपियाँभन्दा बढी पुगेको छ ।

यस दिन कारोबार भएका १३ समूहमध्ये तीन समूहको मात्रै वृद्धि हुँदा बाँकी १० समूहको परिसूचक भने ओरालो लागेको छ । जलविद्युत् समूह २४ दशमव ५२ अंक, वित्त समूह ५ दशमलव २ र लघुवित्त समूह ४४ दशमलव ५ अङ्ले बढ्दा बैंकिङ समूह ६ दशमलव ७२, व्यापार २१२ दशशमलव ८३, होटल तथा पर्यटन १४४ दशमलव ८२, विकास बैंक शून्य दशमलव ४८, निर्जीवन बीमा समूह २१ द्यशमलव ९, उत्पादन समूह २० दशमलव १८, अन्य समूह १९ दशमलव २१, जीवन बीमा समूह ३० दशमलव ६५, सामूहिक लगानी कोष शून्य दशमलव शून्य ६अंकले घटेका छन् ।

सोमबार कारोबार रकमका आधारमा नेपाल पूर्वाधार बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको ४४ करोड ३१ लाख रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ । यस्तै माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको ३८ करोड ७७ लाख, चन्द्रागिरि हिल्सको ३७ करोड ७ लाख, नेपाल बंगलादेश बैंकको १४ करोड ६९ लाख, एचआईडीसीएलको १२ करोड ८९ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ५२ लाख, अजोड इन्स्योरेन्सको ८ करोड ९५ लाख, नेपाल पुनर्बीमा कम्पनीको ८ करोड १० लाख र नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ३४ लाख रुपियाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

समग्र परिसूचकमा गिरावट आए पनि सोमबार उन्नती सहयात्रा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि हुँदै सकारात्मक सर्किट लागेको थियो । त्यस्तै अजोड इन्स्योरेन्सको शेयर मूल्य ९ दशमलव ९२ प्रतिशत, महिला लघुवित्तको शेयर मूल्य ९ दशमलव ८५ प्रतिशत, समिट लघुवित्तको ९ दशमलव ४३ प्रतिशत, रिडी हाइड्रोपावरको शेयर ७ दशमलव १८ प्रतिशत, सारथी नेपाल लघुवित्तको शेयर मूल्य ६ दशमलव ९९, वोमी लघुवित्तको शेयर मूल्य ५ दशमलव ९६ प्रतिशत, युनाइटेड इदी मोदी हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव ६३, हिमालयन ऊर्जा विकास कम्पनीको शेयर मूल्य ५ दशमलव ४५ र लक्ष्मी लघुवित्तको शेयर मूल्य ५ दशमलव ४१ प्रतिशतले बढेको छ । तर, चन्द्रागिरि हिल्स, माउन्टेन हाइड्रो, साल्ट टे«डिङ कर्पोरेशन, कालिका पावर, एनएमबी बैंकका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्