महिलाको आत्मनिर्भर बन्ने स्रोत टपरी



मिला दरै, तनहुँ ।

महिलाहरु अहिले चुल्हो चौकोसँगै आत्मनिर्भरतातर्फ सचेत हुँदै गएका छन् । विशेष गरी गृहिणी महिलाहरुले आर्थिक सबल हुनका लागि उपाय वा स्रोत खोज्दै आएका छन् । कहीँकतै मेसिनले सालको पातको छपरी बनाएर बिक्री गर्ने गरेको पाइन्छ । तर गृहिणी महिलालाई स्वरोजगार बनाउने उद्देश्यले दुनाटपरी उद्योग सञ्चालन गरिएको छ ।

व्यास–२ कालिकामार्गस्थित माँअम्बे पूजा सामग्रीले सो उद्योग सञ्चालनमा ल्याएको हो । दुनापटरी उद्योगमार्फत गृहिणीलाई आर्थिकरुपमा सबल बनाउन टेवा पु¥याउनेछ । जंगलमा खेर गएका सालको पातबाट उनीहरुले दुनाटपरी बनाउँदै आएका छन् । महिलाले फुर्सदको समयलाई सदुपयोग गरी घरायसी कामकाजसँगै दुनाटपरी बनाउने गरेका छन् । यहाँका महिला फुर्सदको समयमा जंगलबाट सालको पात टिपेर ल्याउने र घरमै बसेर टुनाटपरी लगाउने कार्यमा व्यस्त हुन्छन् ।‘साँझ–बिहान घरको काम सकेर दिउँसो फुर्सदमा दुनाटपरी बनाउन थाल्छु’, स्थानीयबासी सीता अधिकारीले भन्नुहुन्छ– ‘घरमा दिनभर काम हुँदैन, टिभी हेरेर तथा छिमेकीसँग गफ गरेर समय बिताउने गरेको थिएँ, अहिले टपरी बुनेर समयको सदुपयोगसँगै आम्दानीको स्रोत बनेको छ ।’

स्थानीयबासी संगिता कार्कीको दैनिकी पनि हिजोआज फेरिएको छ । कार्की दिनकै सालको पात टिप्ने र टपरी लगाउने कार्यमै बित्ने गरेको बताउनुहुन्छ । ‘विगतमा रोजगारी सिर्जना हुने खालको उद्योग नहुँदा निकै दुःख झेल्नुपथ्र्यो, अहिले आफ्नै ठाउँमा आम्दानी गर्न सक्ने भएका छौं।’ –कार्कीले भन्नुभयो ।एक साताअघिबाट उक्त ठाँउमा उद्योग सञ्चालनमा आएको हो । नव आदर्श आमा समूहका सदस्यले आम्दानी गरेको मुनाफा संस्थाका लागि खर्चिने अध्यक्ष सावित्रा हड्खलेले बताउनुभयो । आमा समूहले व्यास नगरपालिकालाई प्लास्टिकमुक्त नगर घोषणा कार्यक्रममा सहयोग पु¥याउने उद्देश्यका साथ यसमा लागिपरेका छन् ।नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँकी अध्यक्ष कल्पना गौलीले पूजा सामग्री उद्योग सञ्चालनमा ल्याउनुभएको छ । आमा समूहले सामूहिकरूपमा दैनिक हजार दुना–टपरी उत्पादन गर्ने गरेको उहाँले बताउनुभयो । उद्योग सञ्चालन भएपछि समयको सदुपयोगसँगै महिलाहरुले राम्रो आम्दानी गरेको गौलीले बताउनुभयो । स्थानीय सरकारले प्लास्टिक विस्थापित गर्ने रणनीति लिए पनि दुना–टपरी बनाउने काममा भने सहयोग नगरेको उहाँको भनाइ छ ।

उद्योगमार्फत झन्डै ५ सयभन्दा बढी गृहणीलाई रोजगारी दिने योजना रहेको अध्यक्ष गौली बताउनुहुन्छ । उनले भन्नुहुन्छ– ‘उद्योगमार्फत झन्डै ५ सय महिलालाई रोजगारी दिने उद्देश्य रहेको छ ।’ माँदुर्गाको संस्थापक अध्यक्षसमेत रहनुभएकी गौलीले छिट्टै नै अगरबत्ती उद्योग सञ्चालन गर्ने योजना बनाएको बताउनुभयो । ‘माझ्नुपर्ने समस्यासमेत नहुने भएपछि हातले बुनेको टपरीले बजार पाउनेमा विश्वस्त छु।’ –उहाँले भन्नुभयो । समूहमा आबद्ध महिलाले मात्र नभई अन्य महिलाले पनि सो कार्य गर्दै आएका छन् । उद्योगलाई निरन्तर सञ्चालन गर्न सकेमा महिलालाई स्वरोजगार बन्न टेवा पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्