काठमाडौं, (नेस) ।
‘जीवन जति बुझेर नसकिने कुरा के छ र ! कहाँ कसले आफूमाथि के खेलिरहेको छ र गरिरहेको हुन्छ, कहाँ कसले आफ्नो लागि प्रार्थना गरिरहेको हुन्छ आफैंलाई थाहा हुँदैन ।’हालै बजारमा आएको डा.सुदर्शनभक्त माथेमाको कवितासंग्रहमा यस्तै कुरा पढ्न पाइन्छ । लेखकले आफ्नो जीवनको भोगाइलाई विभिन्न छन्दको प्रयोग गरी कवितामार्फत छताछुल्ल पार्नुभएको छ ।
साँच्चै मान्छेको जीवन के हो ? कसले बुझेको छ जीवन र जगत् ? अझ सेवानिवृत्त जीवनको पाटो भोगाइलाई समय कटाउने खेलका रूपमा कृतिको रचना भएको लेखक स्वीकार्नुहुन्छ । कवि भन्नुहुन्छ– ‘अप्रत्याशित, आश्चर्यचकित, अनौठो र आकर्षक यो जीवनमा थाहा नहुने कुरा मात्र हुँदैन । थाहा हुने कुरा पनि हुन्छ जस्तो कि निवृत्त जीवनको उत्तराद्र्धमा समय काट्न मुस्किल परेको कुरा मैले थाहा पाएरै अनुभव गर्दै छु ।’
आफ्ना भावनालाई कवितामार्फत यसरी व्यक्त गरिएको छ –
समय फेरिएजसतै भोगाइ फेरिने भयो
जिन्दगीको नयाँ चित्र सुस्तरी हेरिने भयो
आफ्नाले पनि खै टाढा गर्दछन् किन हो किन
आशामा कुर्नुबाहेक अरु खै के छ तिर्सना ।।
शार्दूलविक्रीडित, उपजाति, अनुष्टुप, मन्दाक्रान्ता, लोकलय आदि छन्दको प्रयोग गरिएको कविता संग्रहमा जम्मा ४५ वटा कविता छन् । कविले आफ्ना भावनालाई प्रकट गर्न कविताको सहारा लिएको हुँ भन्दै अधिकांश कविता फुटकर भएका हुनाले यिनीहरूले कविताको लघु रूपको प्रतिनिधित्व गर्ने आशा व्यक्त गर्नुभएको छ ।यस संग्रहमा मानिसको जीवनचक्र र भोगाइ, बुढ्यौली अवस्थाको पीरमर्का, आशा र निराशाको दोसाँध, ईश्वरप्रतिको आस्था, मातृभूमिप्रतिको प्रेम, प्रकृतिको सौन्दर्यता, कोरोना भाइरसले उब्जाएको भयभित मनस्थिति आदि जस्ता विविध विषय समेटिएका छन् ।
प्रतिक्रिया