साइनेक्स चक्की सेवनले बिरामी



 दोलखा, (नेस) ।

दोलखाको जिरी नगरपालिकाका दुई बालिकाले मंगलबार साइनेक्स नामको रुघाखोकीको औषधि (चक्की) अत्यधिक सेवन गर्दा बिरामी भएका छन् । उनीहरुलाई जिरी अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय जिरीले जनाएको छ ।

जिरी नगरपालिका–४ का माधव जिरेलकी छोरी १२ वर्षकी दिया जिरेल र वडा नम्बर ५ का फुर्वा शेर्पाको १५ वर्षकी छोरी लेकी शेर्पाले ४६ चक्की साइनेक्स खरीद गरेको देखिएको प्रहरीले जनाएको छ । उनीहरुले एक एक पत्ता (१०-१० चक्की) साइनेक्स खाएको बताएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । बाँकी औषधि भने नभेटिएको प्रहरीको भनाइ छ ।

अहिले उनीहरुको मेडिकल कलेज जोरपाटी काठमाडौंमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो । के कारणले अत्यधिक औषधि सेवन गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्