निफमा ३१ देशका ६३ फिल्म


नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले वर्षेनि आयोजना गर्दै आइरहेको चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का लागि ३१ देशका ६३ फिल्म चयन गरिएको छ।

५२ देशबाट ४ सय ५० फिल्म प्राप्त भएकामध्ये ६३ फिल्म छनोट गरिएको आयोजक संस्थाका अध्यक्ष केपी पाठकले जानकारी गराए। निफको चौथो संस्करण आगामी वैशाख २३ देखि २७ गतेसम्म राजधानीमा चल्नेछ। विश्वका कथाहरुको कथ्य उत्सव भन्ने नाराका साथ आयोजना हुने फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै क्याटगोरीमा प्रतिस्पर्धा गराई अवार्ड प्रदान गरिने आयोजकले जानकारी गराए। कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन्।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वाेत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड प्रदान गरिने तथा उत्कृष्ट फिचर फिल्मका लागि इन्टरनेसल फेडरेसन अफ फिल्म सोसाइटिज, आईएफएफएस डन क्विजोते अवार्ड प्रदान गरिनेछ। त्यसै गरी, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड, एनिमेटेड फिल्मलाई ७ सय ५० डलरको मञ्जुश्री अवार्ड, लघु फिल्मलाई ५ सय डलर राशिको बाग्मती अर्वाड यथावतरूपमा प्रदान गरिने पाठकले जानकारी गराए। त्यसै गरी नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख, उत्कृष्ट सर्ट फिल्मलाई ५० हजार रुपियाँ प्रदान गरिने जानकारी उनले गराए।