च्याम्पियन्स लिगमा पोर्टाेसँग हार्‍यो युभेन्ट्स


लन्डन, (एजेन्सी) ।

युईएफए च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को खेलमा इटालियन सिरी ए महारथी युभेन्ट्स पोर्चुगिज टोली एफसी पोर्टोसँग २–१ ले पराजित भएको छ ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा पोर्टाेको जितमा मेहेदी तारेमी र मोउसा मरेगाले गोल गरेका थिए । युभेन्ट्सका लागि फे्डरिको चिइसाले गोल गरे पनि टोलीको हार भने टार्न सकेन ।

खेलको पहिलो मिनेटमा नै सम्हालिन नपाउँदै पोर्टाेले मेहेदी तारेमीको गोलबाट युभेन्टस्विरुद्ध अग्रता लिएको थियो । दोस्रो हाफमा पनि शुरूमै मोउसा मेरेगाले गोल गर्दै पोर्टाेको अग्रता दोब्बर बनायो । खेलको ८२औं मिनेटमा चिइसाले गोल गर्दै खेलमा फर्कने संकेत दिए पनि त्यसपछि गोल निस्कन नसक्दा युभेन्ट्स पराजित हुन पुग्यो । अब यी दुई टोलीबीचको दोस्रो लेगको खेल १० मार्चमा हुनेछ । युभेन्ट्सलाई अघिल्लो चरण प्रवेश गर्न दोस्रो लेगमा १–० को जित आवश्यक पर्नेछ ।

बुधबार राति नै भएको अर्को खेलमा नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको दुई गोल तथा महमुद दाहुदले एक गोल गरेपछि जर्मन क्लब बोरुसिया डर्टमन्डले पनि स्पेनिस क्लब सेभियालाई ३–२ ले पराजित गरेको छ ।सेभियामा बुधबार राति भएको खेलमा घरेलु टोलीले खेलको सातौँ मिनेटमा सुसोको गोलबाट अग्रता लिएको थियो । १९औं मिनेटमा महमुद दाहुदले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । २७औं मिनेटमा हालान्डले जाडोन सान्चोको पासमा गोल गर्दै डर्टमन्डलाई २–१ को अग्रता दिलाए ।

खेलको ४३औं मिनेटमा कप्तान मार्काे रिउसको पासमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि डर्टमन्डले पहिलो हाफमा ३–१ को अग्रता लिन सफल भयो । खेल सकिन ६ मिनेट बाँकि रहँदा लुक डि जोङले गोल गरे पनि टोलीको हार भने टार्न सकेन । महत्वपुर्ण अवे जितसँगै डर्टमन्डले क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । यी दुईबीच दोस्रो लेग डर्टमन्डको मैदानमा १० मार्चमा हुनेछ ।