भागरथीका दाइले दिए आरोपित सहपाठीविरुद्ध किटानी जाहेरी


न्युज अफ नेपाल ,काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्टविरुद्ध भागरथीका दाइ शंकर भट्टले किटानी जाहेरी दिएका छन् ।

दाइ शंकरले जिल्ला प्रहरी कार्यालय बैतडीमा दिनेशविरुद्ध किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्ला अदालत बैतडीबाट म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान गर्न लागेको छ । भट्ट विरुद्ध करणी र ज्यान सम्बन्धी कसुर मुद्दामा म्याद थप हुने प्रहरीले जनाएको छ ।

दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथीको २१ माघमा विद्यालयबाट घर फर्कदै गर्दा हत्या भएको थियो ।आज बिहान ११ बजे पत्रकार सम्मेलन गरेर अभियुक्तलाई सार्वजनिक गर्ने भनिए पनि म्याद थपपछि दिउँसो २ बजे सार्वजनिक गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

कुकुर आउँदैछ भनेपछि गोठालो गए भट्ट

भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणका अभियुक्त १६ वर्षीय दिनेश भट्टले प्रहरीको तालिमप्राप्त कुकुरले सुँघेर अभियुक्त पत्ता लगाउँछ भन्ने सुनेपछि भागेको बयान दिएका छन् । घटनामा अनुसन्धान गर्न डिआइजी आफैँ कुकुरसहित आउदैछन् भन्ने हल्ला सुनेका उनले आफू आत्तिएर गोरु चराउन जंगल गएको प्रहरीसमक्ष बयान दिएका छन् ।

अपराधीले कुनैपनि सबुत घटनास्थलमा नछोडेको भन्ने हल्ला चलेका बखत प्रहरीको तालिम प्राप्त कुकुरले सुँघेर सजिलै पत्ता लगाउँछ भनेर घटना भएको भोलिपल्ट शव भेटिएपछि चलेको हल्लाले आफूलाई कुकुरले पत्ता लगाउने डरले गोरु चराउने बहाना गरेर हिँडेको बताएका हुन् ।प्रहरीको तालिमप्राप्त कुकुरले अपराधी पत्ता लगाउने भन्दै र डिआईजी आफैँ आउदैछन् भन्ने हल्ला विभत्स घटना भएको क्षेत्रबाट यति व्यापक चल्यो कि सबै घरघरमा यसबारे कुरा हुन थालेपछि आफू आत्तिएको उनले स्वीकार गरेका हुन् ।

२ वर्षअघि कञ्चनपुरको भिमदत्तनगरकी निर्मला बलात्कारपछि हत्या प्रकरणमा भएको फितलो अनुसन्धान र गल्ती तथा कमी कमजोरी यस अनुसन्धानमा नहोस् भन्नको लागि शुरूदेखि नै निकै संयमित भएको प्रहरीले यस घटनामा मिहिन ढंगले अध्ययन गरेको थियो ।

भागरथीको बलात्कारपछि हत्या घटनामा सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी घटनाको तेस्रो दिन माघ २३ गते शुक्रबार आफैँ घटनास्थल पुगेका थिए ।भागरथीसँग बदला लिन यो अपराध गरेको स्वीकारेका दिनेशले अनुसन्धान अधिकारीसमक्ष पनि कुकुर आएको थाहा पाएपछि आफैँलाई संकेत गर्न सक्ने भन्दै घटनास्थल नगएको र गोठालो गएको बयान दिएका छन्।

शुरूको अनुसन्धानमा प्रहरीसमक्ष दिनेशले अनुसन्धान अधिकृतलाई झुटो बोल्ने, झनक्क रिसाउने, आक्रामक स्वभाव, चिढिने, झर्कने जस्तो व्यवहार देखाएका थिए ।दिनेशलाई कुल देवताको मन्दिरमा समेत गलेर कसम खान लगाएको थियो । तर उनले घटनामा आफ्नो संलग्नता छैन भनेको थियो । प्रहरीले क्लोज रिङमा राखेका बखत शुरूमा निडर र आत्मविश्वाससहित बेलेको अभियुक्त क्रमश गल्दै गएको थियो । तर अनेकन प्रमाणसँग पुष्टि भएपछि फागुन ४ गते मंगलबार पक्राउ गरेको हो । घटनाको १५ औँ दिन आज प्रहरीले दिउँसो अभियुक्त भट्टलाई सार्वजनिक गर्दैछ ।