बलिउडका दिदीबहिनी नायिका

0
Shares

बलिउड फिल्म नगरीमा त्यस्ता धेरै कलाकार छन्, जो एउटै परिवारबाट आएका छन्। बलिउडमा त्यस्ता धेरै कलाकार छन्, जसले आफ्नो सन्तानलाई पनि फिल्म क्षेत्रमा ल्याएका छन्। त्यसै गरी, यस्ता केही दिदीबहिनी पनि छन्, जो दर्शकमाझ चर्चित छन्। ती हुन् :

शिल्पा शेट्ठी समिता शेट्ठी

शिल्पा शेट्ठी बलिउडमा निकै चर्चित नाम हो। त्यस्तै उनको बहिनी समिता शेट्ठीले पनि दिदीकै बाटो रोजेर बलिउडमा प्रवेश गरेकी थिइन्। फिल्म मोहब्बतेबाट बलिउडमा प्रवेश गरेकी समिताले फिल्म मेरे यारकी सादी हे र साथियामा गरेको आइटम डान्स निकै मन पराइएको थियो।

इन्टेरियर डिजाइनरसमेत रहेकी समिता बलिउडमा खासै चल्न सकिनन्। ४१ वर्षीया समिता अविवाहित नै छिन्। शिल्पाले भने सन् २००९ मा व्यवसायी राज कुन्द्राका साथ विवाह गरेकी हुन्।

करिश्मा र करिना कपुर

करिश्मा कपुर र करिना कपुर दिदीबहिनी बलिउडमा निकै चर्चित नाम हो। उनीहरुको ६ वर्षको उमेर अन्तर छ। ९० को दशकमा निकै चर्चित करिश्माले सन् १९९१ मा प्रेम कैदीबाट बलिउड डेब्यु गरेकी थिइन् भने करिनाले सन् २००० मा फिल्म रिफ्युजीमार्फत बलिउडमा डेब्यु गरेकी थिइन्। हाल करिश्मा निकै कम मात्रामा फिल्ममा देखिन्छिन्। करिना भने एकपछि अर्को गर्दैै निकै व्यस्त छिन् ।

डिम्पल र सिम्पल कपाडिया

८० को दशकका बलिउडमा लोकप्रिय दिदीबहिनी अभिनेत्री हुन् डिम्पल र सिम्पल कपडिया। ६३ वर्षीया डिम्पलले १४ वर्षको उमेरमा फिल्म बोबीमार्फत बलिउड डेब्यु गरेर चर्चा पाएकी थिइन्।

त्यस्तै कस्टम डिजाइनरसमेत रहेकी उनकी बहिनी सिम्पल कपडिया पनि बलिउडमा चर्चित नाम थियो। सिम्पल कपडियाको सन् २००९ मा ५१ वर्षको उमेरमा ब्लड क्यान्सरका कारण ज्यान गएको थियो।

प्रियंका र परिणिती चोपडा

प्रियंकाको नाम बलिउडमा मात्र नभएर हलिउडमा पनि प्रख्यात भइसकेको छ। प्रियंका आफूभन्दा १० वर्ष कान्छा हलिउड गायक निक जोन्सका साथ विवाह गरेर अमेरिकामा बसोवास गरिरहेकी छन्। धेरैलाई थाहा नहुन सक्छ कि अभिनेत्री परिणिती चोपडा प्रियंकाकी नजिको बहिनी नाता पर्छिन्।

काजोल र तनिशा

काजोल र तनिशा पनि बलिउडमा काम गर्ने आफ्नै दिदीबहिनी हुन्। कजोलले बलिउडमा राम्रै पहिचान बनाएकी छिन् भने तनिशाले भने फिल्मी करिअरबाट खासै सफलता पाउन सकिनन्।

त्यस्तै चर्चित नायिका रानी मुखर्जी पनि काजोलको बहिनी नाता पर्छिन्। यही कारण काजोलका पति बलिउडका चर्चित नायक अजय देवगण र रानी साली–भेनाका रूपमा चर्चित छन्।

मलाइका र अमृता अरोरा

बलिउडमा आइटम नम्बरका लागि प्रख्यात रहेका मलाइका र अमृता अरोरा पनि दिदीबहिनी हुन्। सलमान खानका भाइ अरवाज खानसँगको दाम्पत्य जीवन तोड्दै सन् २०१७ मा डिभोर्स गरेकी मलाइका हाल अभिनेता अर्जुन कपुरसँग डेट गरिरहेकी छिन्। त्यस्तै मोडल तथा भिडियो जक्कीसमेत रहेकी अमृता अरोरा पनि बलिउडको चर्चित नाम हो।