नेपाली राजनीतिको ‘हरिबिजोग’


पेशलआचार्य

वर्तमान समयको जस्तो राजनीतिक भद्रगोल नेपालमा शायदै कहिले भएको थियो । छँदाखाँदाको दुई तिहाइनजिकको पार्टीको सरकारले अनावश्यकरूपमा पार्टीको बखेडालाई बीचमा ल्याएर प्रतिनिधिसभा भङ्ग गरेको छ । बेमौसममा बजेको बाजाजस्तै चुनावको डंका पिटिएको छ, जसबाट जनतामा अन्योल र त्रास सिर्जना भएको छ ।जनता सबै नेता, पार्टी र तिनका हनुमान कार्यकर्ताहरूबाट दिक्कवाक्क भएका छन् ।

एकप्रकारले भन्ने हो भने, जनतामा घोर निराशाको बादल छाएको छ । समस्याहरूको वस्तुगत वर्गीकरण गरी योजनाबद्ध समाधान निकाल्न सक्ने एउटै पनि योग्य र भरपर्दो ‘राजनेता’ नेपालमा अहिले देखिएका छैनन् । जनता भोलि के हुन्छ भन्ने सोचिरहेका छन् । अमेरिकाजस्तो देशमा त चुनावी प्रक्रियाबाट हट्नुपर्ने राष्ट्रपतिका हरुवा उम्मेदवारडोनाल्ड ट्रम्पले क्यापिटल हिलमा आफ्ना अमेरिकी अरिँगालहरूलाई आक्रमण गर्न लगाएर विश्वव्यापीरूपमा निन्दा र घृणाका पात्र बनेका छन् । विश्वमा दृश्य-अदृश्य रूपका दादागिरी देखाएर विकसित, विकासोन्मुख र अतिकम विकसित देशहरूमा मनोवैज्ञानिक शासन गर्न सफल अमेरिका यतिखेर व्यापक चर्चा र चासोको विषय भएको छ ।

खासगरी त्यो सन्दर्भ प्रजातन्त्रभन्दा पनि राष्ट्रपतिका पराजित उम्मेदवार डोनाल्ड ट्रम्पको सर्वसत्तावादी सोचका कारण भएको हो भन्ने कुरा पूरा विश्व जान्दछ ।एउटा भनाइ छ–‘शिखरमा चढ्न सकिन्छ तर त्यसमा सधैँ अडिरहन सकिँदैन ।’ यो कुरालाई अर्थशास्त्रको भाषामा भन्दा उपयोगिताको ह्रास नियमले सम्बोधन गर्न सकिन्छ । गणितको भाषामा भन्दा अप्टिमम् प्वाइन्ट भन्छ । राजनतिक भाषामा भन्दा राजनीतिको पराकाष्ठा भन्ने हुन्छ ।त्यसैगरी सामाजिक भावभङ्गीमा भन्दा ‘मैमत्त भएको’ भन्ने बुझिन्छ । अहिले नेपाली क्रियाशील विभिन्न पार्टीका नेताहरू धेरथोर मात्रामा मात्र हो सबै नेपाली राजनीतिको हरिबिजोग बनाउनका उत्तिकै जिम्मेवार छन् । कोही कसैभन्दा कम छैनन् । यो सानो लेखमा नेपाली नेता र तिनीहरूकाअनेकानेक विशेषतालाई मानवीय गुण–दोषका आधारमा यहाँ निष्पक्ष चित्रण गरिएको छ ।

अहिले सिनारियोमा देखिएका कुनै नेपाली नेताहरूमा‘राजनेता’ हुनलायकएउटा पनि गुण छैन । आफ्ना पार्टीहरूका झोले कार्यकर्ता, नेताहरूले जुनसुकै प्रकारको गल्ती गर्दा पनि आँखा चिम्लेर देवत्वकरण गर्ने हुस्सु समर्थक, लाभको पद डम्फ्याउने हुक्के÷बैठके समर्थक र अन्ध भोटरहरूबाहेक आमनेपाली जनताको हृदयमा घर गर्नसक्ने राष्ट्रवादी, निर्लोभी, निष्पापी, शूरवीर र गौरव गर्नलायक भिजनेरी एकजना नेता छैनन् । दुःख लाग्न सक्छ, यो आलेख पढिरहँदा जो–कसैलाई तर यो पनि सत्य हो कि लेख्ने लेखकलाई समेत यसो भनेर लेखिरहँदा पउल दुखानुभूतिको अनुभव भैरहेको छ । यसो भनेर यहाँ कुनै नेताको पक्ष वा विपक्षमा लागेर आवश्यकताभन्दा बढी कसैलाई देवत्वकरण र अनावश्यकरूपमा कसैलाई दानवीकरण गर्न खोजिएको छैन-होइन ।

त्यसो गर्नुपर्ने कुनै दरकारै छैन । जनताका एङ्गलबाट ‘स्वट एनालाइसिस’ को दृष्टिकोणले मूल्याङ्कन गर्न खोजिएको र भविष्यको मार्गचित्र प्रस्तुत गर्न मात्र खोजिएको छ । यो कुरा लोकतन्त्रमा एउटा जिम्मेवार नागरिकको कर्तव्यभित्रै पर्दछ ।