काली काली दिलवाली पल्पसा


हास्य अभिनेत्री पल्पसा डंगोल (चम्सुरी) ले आफ्नो स्वरमा काली काली दिलवाली बोलको पहिलो गीत दर्शक स्रोतासामु ल्याएकी छन्।
कमेडी शैलीको उक्त गीतमा पल्पसाले आफ्नो शरीर र आनीबानीका बारे व्यंग्य गरेकी छिन्। पल्पसाले मेरी बास्सै ‘चम्सुरी’ नामक आफ्नै युट््युब च्यानलमार्फत उक्त गीत रिलिज गरेकी हुन्। गीतमा पल्पसाका साथ प्रकाश पौडेलको शब्द रहेको छ भने अशोक राईको संगीत रहेको छ।
कतारको रमणीय स्थानहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा पल्पसा स्वयंले अभिनय गरेकी छन्। आफूले यात्रा गरेका विभिन्न स्थानका दृश्यलाई समेट्दै पल्पसाले यस भिडियोलाई यात्राप्रधान बनाएकी छिन्। करिब एक वर्षअघि नै तयार गीतको म्युजिक भिडियो तयार गरेर पल्पसाले हाल रिलिज गरेकी हुन्।
‘हास्य कलाकारका रूपमा धेरै स्टेज कार्यक्रममा सहभागी हुँदा कमेडी गीतहरु गाउँथें। यसै क्रममा काली काली दिलवाली बोलको गीत गाउँदा दर्शकले निकै मन पराउनुभयो। त्यस कारण मैले यो गीत रेकर्ड गराएर दर्शकमाझ ल्याएकी हँुु’, पल्पसा भन्छिन्– ‘हास्यव्यंग्य शैलीको गीत भएका कारण गीतमा मैले आफ्नै शरीरलाई व्यंग्य गरेर गाएको छु।’
लामो समयदेखि हास्य कलाकारका रूपमा अभिनय गर्दै आएकी पल्पसाले धेरै फिल्म, टेलिफिल्म र विज्ञापनमा अभिनय गरेर दर्शकको मन जित्दै आएकी छन्। हास्य टेलिशृंखला मेरी बास्सैमा चम्सुरीको भूमिकामा देखिएपछि दर्शकमाझ उनी थप लोकप्रिय बन्न पुगिन्। भिडियोलाई पल्पसा आफैंले निर्माण र निर्देशन गरेकी हुन् भने पवन डंगोलको छायांकन, रविन भट्ट र अशोक चौधरीको सम्पादन रहेको छ।