ससाना राज्यहरूमा बाँडिएका बाइसे तथा चौबीसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने पृथ्वीनारायण शाह आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन् । यिनको सम्झनामा पुस २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । २००९ सालदेखि योगी नरहरिनाथले सरकारसँग समन्वय गरेर एउटा समारोह समिति गठन गरी आफैं त्यो समितिमा बसेर राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको रूपमा मनाउन प्रारम्भ गरिएको हो ।
पृथ्वीनारायण शाह नेपालभित्रको सानो पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए । वि.सं. १७७९ पुस २७ गते बिहीबार यिनको जन्म भएको थियो । उनी बाल्यकालदेखि नै अत्यन्तै सुरवीर, तेजवीर, बुद्धिमान् तथा मेहनती थिए । शुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो । धनुवाण, तरबार, घोडसवारी दौड आदिमा पनि उनी निपूण थिए ।
यिनको पहिलो विवाह मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसँग भएको थियो । गोरखा र मकवानपुरबीच ओहोरदोहोर गर्नुपर्दा उपत्यकाको भूबनोट र त्यहाँको आर्थिक अवस्थालाई उनले राम्रोसँग नियाले । त्यस बखत गोरखाका १२०० घरधुरीका जनतालाई ६ महिना खान पुग्ने अन्नपात वा आर्थिक हैसियत थिएन ।
त्यसै कारणले उनले अन्नपातले सम्पन्न र उन्नतिशील काठमाडौँ उपत्यकालाई विजय गर्ने मनसाय बनाइसकेका थिए । वि.सं. १७९८ मा काठमाडौँ आएका पृथ्वीनारायण शाहले गोरखा दरबारको तर्फबाट ल्याएका पगरी भक्तपुरका राजा रणजित मल्ललाई दिए भने त्यसको कदरस्वरूप रणजित मल्लले राजकुमार वीरनरसिंह मल्लसँग उनको मितेरी लगाई दरबारमा स–सम्मान लामो अवधिसम्म राखेका थिए । गोरखा फर्किंदा चाँगुनारायण, पशुपति र गुह्येश्वरीको दर्शन गर्न गएको कुरा थाहा पाई काठमाडौँका राजा जयप्रकाश मल्लले उनलाई दरबारमा ल्याई मितेरी लगाएका थिए ।
वि.सं. १७९९ मा राजा नरभूपाल शाहको मृत्यु भएपछि पृथ्वीनारायण २० वर्षको उमेरमा गोरखाका राजा भए । राजा हुनुअगावै उनले वि.सं. १७९८ मा काठमाडौँ उपत्यकाको राजनीतिक रहनसहन राम्रोसँग अध्ययन गरिसकेका थिए । पृथ्वीनारायण शाहको काठमाडौँ उपत्यका र पूर्वी क्षेत्र विजय गर्ने इच्छा रहेकाले आफ्ना प्रबल विरोधी शक्ति लमजुङका राजा रिपुमर्दन शाहसँग वि.सं. १७९९ मा एक सन्धि गरे, जसअनुसार दुवै राज्यबीच मैत्री सम्बन्ध कायम गर्ने, कास्कीको अर्घामाथि कब्जा गर्न सफल भएमा त्यहाँको काठ कास्कीलाई दिने आदि सर्तनामा उल्लेख थिए ।
पिता नरभूपालको एकीकरणको सपना साकार पार्न वि.सं. १८०० मा विराज थापा मगर र महेश्वर पन्तको नेतृत्वमा उनले नुवाकोट आक्रमण गराए तर नुवाकोटबाट गोर्खालीहरूले पराजयको सामना गर्नुप¥यो ।
नुवाकोटको युद्धमा पराजयको सामना गर्नुपरेकाले आवश्यक हातहतियारहरू संकलनार्थ पृथ्वीनारायण शाह वनारस पुगे । पिता नरभूपालले पुण्य प्राप्त गरून् भनी काशीको यात्रा गरी आफ्नो भारद्वाज गोत्रबाट काश्यप गोत्रमा गोत्र परिवर्तन गरे । सोही बेलामा तीर्थ गर्न भनी गएका जाजरकोटका राजा हरि शाहसँग उनले राज्य विस्तार गर्दा गोरखा र जाजरकोटले एक–अर्कालाई बाधा र कुभलो नचिताउने कुराहरूबारे सन्धि गरे ।
दोस्रो पटक पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा कालु पाण्डेको सेनापतित्वमा नुवाकोटमाथि हमला गरे । यसपटक सैनिकहरूको संख्या १ हजारभन्दा माथि थियो । कालु पाँडेले नुवाकोट रक्षा तैनाथ रहेका जयन्त राणालाई गोर्खामा मिल्नुबाहेक उनको लागि अन्य भलाइ नभएको पत्र पठाए । तर जयन्त राणाले काठमाडौं पुगी गोर्खालीहरूबाट सम्भावित आक्रमणको जानकारी दिँदै थप सैनिक र हातहतियार माग गरे । तर उपत्यकामा इन्द्रजात्राको चहलपहल रहेकाले जयप्रकाश मल्लले जयन्त राणाको मागको उपेक्षा गरे । जयन्त राणाको छोरा शंखमणि राणाले नुवाकोटको सुरक्षामा तैनाथ रहेको समयमा गोरखाबाट पृथ्वीनारायण शाह, दलमर्दन शाह, चौतारा विष्णु शाह, काजी सुरप्रताप शाह आदिले नुवाकोटलाई घेरा हाली एकैपटक आक्रमण गरे । दलदर्मन शाहको हातबाट शंखमणि राणाको मृत्यु भयो र पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय प्राप्त गरे ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा शुरू गरी र कैयौँ स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ वर्ण र ३६ जातको फूलबारीको सृष्टि गरे । पृथ्वीनारायणको उद्देश्यलाई युगको मागका रूपमा इतिहासकारहरूले हेरेका छन् । वि.सं. १८१४ मा पृथ्वीनारायण शाहले कीर्तिपुरमा आक्रमण गरे । यसमा गोरखाको तर्फ १२०० सैनिक थिए । तर कीर्तिपुरले काठमाडौं, ललितपुर र भक्तपुरका सैनिकसमेत सहयोग मागेकाले कीर्तिपुरतर्फ ३०० जति सैनिक थिए । यी दुईपक्षवीच बल्खु खोलामा ६ घन्टासम्म लडाइँ हुँदा धेरै गोरखालीले वीरगति प्राप्त गरे । कीर्तिपुरको कब्जामा परेका पृथ्वीनारायण शाह राजवध गर्न नहुने नैतिक नियमको कारणले मात्र यहाँ बाँचेका थिए । कीर्तिपुरको पहिलो युद्धमा वीरगति प्राप्त गरेका काजी कालु पाण्डेका ठाउँमा उनको छोरा वंशराज पाण्डेलाई र सेनापति पदमा शिवराम सिंह बस्न्यातका छोरा केहरसिंह बस्न्यातलाई नियुक्त गरी सैनिक पुनर्गठन गर्ने अभिभारा सुम्पिए । वि.सं. १८१६ मा शिवपुरी र काभ्रेमाथि विजय प्राप्त गरे ।
कीर्तिपुर गोर्खाको कब्जामा पर्न गएको निकट भविष्यमै उपत्यकामा आक्रमणको सम्भावना भएकाले जयप्रकाश मल्लले ललितपुर र भक्तपुरका राजाहरूसँग बैठक गरी गोर्खा सैनिकको विरुद्ध सशक्त सैनिक अभियान गर्नुपर्ने विचार व्यक्त गरेका थिए । तर ललितपुर र भक्तपुरका राजाले अनुकूल प्रतिक्रिया नजनाएका र गोर्खालीको पहिलो आक्रमण कान्तिपुरमै हुनेछ भन्ने ठानी जयप्रकाश मल्लले अंग्रेजहरूसँग सैनिक तथा हातहतियारको सहयोग मागे । उनलाई सहयोग गर्न वि.सं. १८२३ मा किनलकको नेतृत्वमा २४०० सैनिक पूर्वी नेपालको सिन्धुलीगढी हुँदै काठमाडौंतिर बढ्यो । यो कुराको जानकारी पृथ्वीनारायण शाहलाई पहिले नै भएकाले सिन्धुलीगढीको रक्षार्थ खटिएका वीरभद्र पाँडे, वीरभद्र उपाध्याय र वंशु गुरुङको समूहले परास्त गरे । सारा अंग्रेज फौज आफुसँग रहेको हातहतियार छाडी प्राण बचाउन जंगलतर्फ भागे ।
पृथ्वीनारायण शाहले उपत्यकालाई चारैतर्फबाट घेरी नाकाबन्दी गरेकाले उपत्यकामा चरम आर्थिक संकट छाएको थियो । त्यसमा पनि काठमाडौँका राजा जयप्रकाश मल्ल कठोर विचार, घमण्डी र शंकालु प्रवृत्तिका थिए । आफ्नो शक्ति कायम राख्न विदेशी सैनिक झिकाई देवीदेवताको गुठी मासेकाले धर्मप्राण नेपाली जनता क्षुब्ध भएका थिए । विदेशी सैनिकलाई बढी तलबसमेत दिने गरेकाले कान्तिपुरका सैनिकमा निराशा उत्पन्न भएको थियो ।
वि.सं. १८३१ मंसिरको मध्यतिर जाडो छल्न नुवाकोट गएका पृथ्वीनारायण शाह नुवाकोट दरबारमा बिमारी परे । स्वास्थ्य खराब हुँदै गएपछि उनैको इच्छाअनुसार त्यहाँको देवीघाट लगियो । नौ दिनसम्म घाटमै रही माघ १ गते बिहान ७ बजे उनको निधन भयो । घाटमै राखिएको बेला उनले नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा उपदेशहरू दिएका थिए, जसलाई दिव्य उपदेश भनिन्छ । माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा उकुच र ठेउला आएर नुवाकोट जिल्लामा पर्ने त्रिशूली र तादी नदीको संगम ‘मोहन तीर्थ वा देवीघाटमा उनको मृत्यु भएको थियो ।
– केशव रायमाझी, कैलाली ।
प्रतिक्रिया