भारतमा कोभिसिल्ड र कोभ्याक्सिनले स्वीकृति पायो

नेपालमा खरिदकै विषयमा छलफल


नेपाल समाचारपत्र, काठमाडौं

नेपाल सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्ने विषयमा छलफलमै अलमलिएर बजेटसमेत कुन माध्यमबाट जुटाउने भन्ने यकिन गर्न सकेको छैन । तर, छिमेकी मुलुक भारतमा भने भारतको नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई)ले दुईवटा खोपको आपत्कालीन प्रयोग अनुमति दिएको छ ।

नेपालमा राजनीतिक उतारचढावसँगै अर्थोपार्जनको मुख्य स्रोत बिरामी र उनीहरुले अस्पतालाई तिर्ने शुल्क अर्थात् विदेशबाट नेपालीले परिवारका लागि पठाउने रकमलाई लक्षित गरिएको छ । तर भारतमा डीसीजीआईले सिरम इन्स्टिच्युटद्वारा भारतमा उत्पादित एस्ट्रेजेनेको ‘कोभिसिल्ड’ र भारत बायोटेकको ‘कोभ्याक्सिन’ नामक खोप आपत्कालीन उपयोगका लागि अनुमति दिएको छ । यो अवस्थामा नेपालले कुन मुलुकबाट कति रकम बराबरको खोप खरिद गर्ने र कहाँ कसरी भण्डारण गरी आम नागरिकलाई दिने भन्ने खाका कोर्नसमेत सकेको छैन ।

छिमेकी मुलुक भारतमा डीजीसीआईका निर्देशक विजी सोमानीका अनुसार १ र ३ जनवरीमा विज्ञ समूहले ती दुवै खोप आपत्कालीन प्रयोगका लागि अनुमति दिन सिफारिस गरेको थियो । सोहीअनुसार अनुमति पाएको आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको बुझिएको छ । कोभिसिल्ड खोप ७० दशमलव ४३ प्रतिशत प्रभावकारी रहेको र दुवै खोप शतप्रतिशत सुरक्षित रहेको डीसीजीआईले दाबी गरेको छ ।

अब भारतका नागरिकमा खोप लगाइनेछ । डीसीजीआईको यो निर्णयसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर बधाई दिनुभएको छ । भारतीय स्वास्थ्यमन्त्री डा. हर्षवद्र्धनले पहिलो चरणमा ३ करोडलाई निःशुल्क खोप दिइने घोषणा गरिसक्नुभएको छ । त्यसपछि २७ करोडलाई खोप लगाइनेछ । नेपालले भने अनुदानमा खोप पाउने आसमा २० प्रतिशत जनतामा पहिलो चरणमा स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिकहरुलाई खोप लगाउने सामान्य खाका कोरेर बसेको छ ।

बेलायतमा फैलिएको नयाँ कोरोनाले खोपलाई कमजोर बनाउने त हैन भन्दै विश्वका वैज्ञानिकहरुलाई पुनः झकझक्याएको छ । यता खोपको विश्वसनीयताप्रति मानिसहरु अलमिलएको अवस्थामा नयाँ भाइरसले विश्वलाई सोच्न बाध्य बनाएको छ ।

खोपको प्रभावकारिताको अवधि पनि कम्पनी नै पिच्छे फरकफरक ३ महिनादेखि ५ महिनासम्म तोकिनु र खोपको साइड इफेक्टका बारेमा परीक्षण अवधि नै रहेकाले यसै भन्न सक्ने अवस्था नहुँदा थप शंका उब्जिनु स्वाभाविकै भएको विज्ञहरुको ठम्याइ छ ।