खस्रो जीउमा मलमलको धोती



रामकेशरी वैद्य
एउटा राम्रो नेताको काम सधैँ गाली–विरोध गर्नुमात्र होइन, आफ्नो पालामा जनतालाई खुशी बनाएर देश बनाउनु हो । अबको समयमा गाली र विरोधलाई मात्र छोडी आउने चुनावको लागि राम्रा व्यक्तिहरुको खोजी गर्ने हो ।
जीवनमा कुनै पनि क्षेत्रमा नक्कल गर्नु राम्रो कुरा हो । यद्यपि, परीक्षामा नक्कल गर्दा सफल हुन सक्यो भने आर्थिक लाभ, नाम, विकास आदि कुरा सफल तथा राम्रो हुन्छ तर यसमा सफल हुन सकेन भने समय, मेहनत खेर जानुको साथै हाँसोको पात्रमात्र हुन जान्छ । जस्तै– विदेशी मुलुकको हेरी हाम्रो देशमा पनि लोकतन्त्र आयो, जुन सराहनीय कुरा हो । तर दुःख लाग्दो कुरा के छ भने, तीन दशक बितिसक्दा पनि यो मुलुकमा सधैँ कलह, अशान्ति, असुरक्षा, सरकार असफल मात्रै भइराख्नु चित्त नबुझ्दो छ ।
देशमा लोकतन्त्र आउनुअघि नेपालीहरु दुई छाक खाएर आनन्दले समय बिताइराखेका थिए । एक हिसाबले वातावरण रमाइलोमा गुज्रिरहेको थियो । तैपनि नेपालीहरुलाई यी कुराहरु पचेन, कारण विकास ढिलो गतिमा र एकतन्त्रीय शासन थियो । त्यसकारण मानिसहरुको जिन्दगीमा अझ केही स्वतन्त्र तथा देशको विकास होला कि भनेर यहाँ लोकतन्त्र आयो, सानो मुलुक भए पनि ।
हुन त लोकतन्त्र आएर देशको मुहार फेरियो, केही विकास पनि भयो तर बदलामा धेरै नेपालीको प्राण गयो, परिवार छोडेर मानिसहरु विदेश पलायन भए । सोझा नेपालीहरु झन्–झन् खुङ्खार भए, देश बनाउनमा होइन कि मर्ने मार्ने, गलत तरिकाले कमाउनेजस्ता कुराहरुमा नेपालीहरु धेरै नै माहिर भए । यसको परिणामले गर्दा देश झन्–झन् पछि धकेलियो । के देशमा असली लोकतन्त्र भनेको यही हो त ? पैसाको लागि जे पनि गर्ने भए नेपालीहरु । पैसा र विलासिताको देखासिकीले गर्दा समाज परिवर्तन भयो, विकृतिको हिसाबले ।
वास्तवमा भन्ने हो भने लोकतन्त्र आउनुअघि एकतन्त्र शासनमा पञ्चहरु अलि भ्रष्ट नभएर जनतालाई अलि स्वतन्त्र दिएको भए यत्रो सानो मुलुकमा लोकतन्त्र तथा संघीयताको जरुरत नै थिएन । तर भनेर के गर्ने, अहिले भ्रष्टाचार रोकियो त ? झन् बढ्यो । जनतालाई सधैँ राजनीतिक टेन्सन मात्र भयो ।
हामीले सोच्ने एउटा तर हुने अर्को । एक हिसाबले नचाहेर पनि र समयको मागले गर्दा पनि विदेशी चलखेल तथा केही अर्धबुद्धिजीवी एवं जनताको लहैलहैमा हाम्रो देशमा लोकतन्त्र आयो, तर समाजलाई यहाँको लोकतन्त्र पचेन । कारण धेरै दल, धेरै नेता, धेरै कार्यकर्ता, अनभिज्ञ जनता आदि मिश्रणको कारणले गर्दा नेपालको राजनीति सधैँ असफल तवरले गुज्रिराखेको हामीले पायौं ।
हुन त राजनीतिक कलह आफ्नो ठाउँमा, विकास आफ्नो ठाउँमा हुनुपर्ने हो तर पनि यहाँ त जुन सरकार आए पनि रिस, डाह, झगडामा मात्र चलिराखेको हुन्छ भने विकासको गति भने सुस्तरुपमा गइराखेको छ, जुन अब हुनुभएन । दुई तिहाइको सरकार हुँदा पनि सरकार उति सफल हुन सकेन । फेरि राजनीतिक अशान्ति, खिचातानीजस्ता क्रियाले नेपाली जनता धेरै दुःखी भएका छन् । यस्तो अवस्थामा कसलाई दोष दिने ? यो कुरा बुझ्न गाह्रो भएको छ । अहिलेको घडीमा हामीले एउटै मात्र उदाहरण दिन सक्छौं, खाद्यान्न भण्डारमा खानेकुराहरु पर्याप्त हुँदा पनि हामीले पकाएर खान जानेनौं । अहिले देशको हालत पनि यस्तै भएको छ । सबै दलहरुको हविगत हामीले देख्यौं तर कुनै दल सफल हुन सकेनन् । तैपनि दलहरुमा घमण्ड बढिरहेको छ । साथै उनीहरु राजनीतिक क्षेत्रमा झुमिराखेका छन् । यो एउटा आश्चर्य लाग्दो विषय भएको छ ।
अब हामीले लोकतन्त्रबाट राम्रो अपेक्षा गर्ने हो भने देशमा रहेका राम्रा बुद्धिजीवीहरुको समूह खडा हुनु जरुरी छ । कार्यकर्ता स्वाभिमानी हुनु जरुरी छ । मुलुकमा रहेको समाज पनि कडा हुन नसकेका कारणले गर्दा नेताहरु नसच्चिएको मान्न सकिन्छ । यहाँ सधैँ यही प्रक्रिया मात्र भइराख्ने हो भने यो देशलाई पनि ‘लङ्गडा देशमा भाङ्गडा नाच’ मात्र भनेर सम्झे पनि हुन्छ ।
हाम्रो देशमा खराब मात्रै होइन, राम्रा–राम्रा व्यक्तिहरु पनि धेरै छन् । यिनीहरुले आफ्नै हिसाबले योगदान गरिराखेका छन् । अहिले शिक्षित व्यक्तिहरुले अशिक्षित तथा स्वार्थीहरुका लागि एक–अर्कालाई शिक्षा दिनु जरुरी छ । यिनीहरुले यो सोच्नुहुँदैन कि बाँदरलाई शिक्षा दिनु आफ्नै गालामा थप्पड हान्नुसरह हो भन्ने ।
हाम्रो देशमा एउटा विडम्बना के छ भने, समाजका धेरै व्यक्ति राजनीतिज्ञ, सरकार, नेताप्रति झुकाव भइराखेका छन्, आफ्नो स्वार्थका लागि । तर देश विकासका लागि सबभन्दा ठूला विकृतिहरु यी पनि हुन्, जुन कारणले गर्दा हाम्रो मुलुक सधैँ पछि परिराखेका कुरा सबैलाई थाहा छ । समग्रमा भन्दा, हाम्रा नेता–कार्यकर्ता आफ्नो दायित्वबाट विमुख भएको देखिएको छ । त्यसैले उनीहरुसहित मुलुकका प्रत्येक नागरिक आफ्नो दायित्वबाट पन्सिनुहुँदैन । अरुको नक्कल गर्न जान्ने तर गन्तव्यमा कहिल्यै नपुग्ने हो भने यसलाई हामीले ‘खस्रो जीउमा मलमलको धोती’ मात्र हो भन्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्