सुदूरपश्चिममा आईसीयूको अभाव कायमै


राम धामी, डडेल्धुरा

सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहतको एकमात्र अस्पताल डडेल्धुरा अस्पतालमा शुक्रबारदेखि सघन उपचार कक्ष (आईसीयू) सेवा सञ्चालनमा आएको छ ।
१५ बेडको आईसीयू कक्ष सञ्चालन गर्ने भनिए पनि विविध कारणले पाँच बेडको आईसीयू सेवा सञ्चालन गरेको अस्पतालले जनाएको छ । थप ६ बेडको आईसीयू सेवा केही दिनमै सञ्चालन गरिने र बाँकी चार बेडलाई भने केही समयपछि सञ्चालन गर्ने योजना रहेको डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवाको अभाव जारी रहेकाले जाडोसँगै कोभिड–१९ का बिरामी बढेमा उपचारमा कठिनाइ हुने अवस्था आउने देखिएको छ । स्रोत साधान अभावका कारण डडेल्धुरा र सेती प्रादेशिकलगायतका अन्य अस्पतालहरुमा अझै आईसीयू र भेन्टिलेटर सेवा सञ्चालनमा कठिनाइ भइरहेको पाइएको छ । अस्पतालमा आउने बिरामीको चापको अनुपातमा डडेल्धुरा, सेती, महाकाली र टीकापुर अस्पतालमा उपकरण र दक्ष जनशक्तिको पनि अभाव छ । जिल्ला अस्पतालहरुमा त झन् जनशक्तिसँगै अक्सिजन प्लान्टको समेत अभाव भइरहेको पाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा झन्डै एक दर्जन सरकारी अस्पताल रहे पनि धनगढीबाहिरका अस्पतालमा स्रोत र साधनको अभाव कायमै रहेको हो । धनगढीबाहिर सिकिस्त बिरामीको उपचारमा प्रयोग हुने उपकरणहरु र जनशक्तिको खाँचो टड्कारो छ । प्रदेश सरकारले २० वटा भेन्टिलेटर विभिन्न १० वटा अस्पताललाई दुई थानका दरले वितरण गरेको भए पनि ती सञ्चालनमा ल्याउन दक्ष जनशक्तिको व्यवस्थापन गर्न नसकिँदा अस्पतालमा थन्क्याउनुपर्ने अवस्था आएको बताइएको छ ।

टीकापुर अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर रेमकुमार राईले भन्नुभयो– ‘दक्ष जनशक्तिको अभावमा हामीले प्राप्त गरेका उपकरण सञ्चालन गर्न सकिरहेका छैनौं ।’ कञ्चनपुरको महाकाली अस्पतालमा ६ वटा आईसीयू बेड रहे पनि कोभिडका लागि कुनै पनि छुट्याइएको छैन ।

प्रदेशको रेफरल अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीमा १५ आईसीयू बेड र ११ भेन्टिलेटर रहेको जनाइएको छ । तीमध्ये १० आईसीयू बेड र पाँच भेन्टिलेटर कोभिडका लागि छुट्याइएको छ । सेती अस्पतालमा दक्ष जनशक्ति रहे पनि बिरामीको चापको अनुपातमा कर्मचारी र उपकरण अभाव हुने चिन्ता हटिसकेको छैन । अहिले अस्पतालमा नयाँ आउने बिरामीका लागि आईसीयूमा बेड खाली नभएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनुभयो ।

सुदूरपश्चिम पहाडका सबै जिल्ला अस्पतालहरुमा दुई÷दुई थान भेन्टिलेटर प्रदेश सरकारले उपलब्ध गराएको भए पनि केही जिल्लामा अझै उपकरण जडान भइनसकेको पाइएको छ । उपकरण जडान भएका अस्पतालमा पनि उपकरण चलाउने दक्षजनशक्ति र अक्सिजन प्लान्ट नहुँदा कोभिड उपचार तयारी अझै पूरा भइसकेको छैन । कोभिड–१९ संक्रमित बिरामीलाई उपचारका लागि धनगढी ल्याउनुपर्ने बाध्यता नहटेको र प्रदेशभर आईसीयू र भेन्टिलेटर अभाव कायमै रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।