कोरोना खोप उत्पादनसँगै नयाँ रोगको चपेटा


भगवती तिमल्सिना, काठमाडौं
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको प्रभावले एक वर्षको अवधिमा विश्वका ८ करोड १३ लाख ६२ हजार ५ सय ६१ जना संक्रमित हुनुका साथै १७ लाख ७६ हजार ५ सय ३२ बढीको मृत्यु भइसकेको छ । यो अवधिमा विश्वका वैज्ञानिकहरुले गरेका अध्ययन अनुसन्धानले एक वर्षभित्रै तीन चरणमा परीक्षण गरी खोप विस्तार गरेका छन् । अमेरिका र युरोपियन मुलुकहरुमा खोपको प्रयोग पनि भइसकेको छ । यसै सन्दर्भमा नेपालले पनि खोप भिœयाउने विषयमा आवश्यक तयारी गरिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विश्वको प्रयोगात्मक अभ्यासकै नक्कल गर्दै नेपालले पनि पहिलो चरणमा स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक, निजामती सेवामा कार्यरत कर्मचारी अर्थात् शिक्षकलाई लक्षित गरीे विवरण संकलन कार्य थालनी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा २ लाख ५८ हजार ८ सय ४० कोरोना संक्रमित भएकामा २ लाख ५० हजार ५ सय ८१ जना निको भएका र १ हजार ८ सय ३२ जनाको मृत्यु भएको जनाएको छ । संक्रमित हुनेमा ज्येष्ठ नागरिक, महिला, बालबालिका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, राजनीतिज्ञ, पत्रकारका साथ समुदायस्तरमा ठूलो संख्या रहेको छ । परीक्षणको दायरामा आएका व्यक्ति मात्र कोरोना संक्रमित नभई परीक्षणको दायरामै नआएका पनि संक्रमित भएको स्वास्थ्य विज्ञहरु बताउँछन् ।

यस्तो अवस्थामा कोरोनाको निर्मूलीकरण गर्ने एउटै मात्र उपाय कोरोना भाइरसविरुद्धको खोप विश्वव्यापीरुपमा सबै मानवले लगाउनु मात्र भएको वैज्ञानिकहरुको ठम्याइ छ । विश्वले उत्पादन गरेको खोप नेपालमा पनि भिœयाउने निर्णयमा पुगेको नेपाल सरकारले खोप कसरी लगाउने र माध्यम कसरी तय गर्ने भन्ने योजनामा जुटेको छ । पहिलो चरणमा छनोट गर्ने क्रममा स्वास्थ्यकर्मी, जेष्ठ नागरिक, दीर्घरोगी र शिक्षक परेका कारण सरकारले शिक्षकको विवरण माग गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शिक्षकको विवरण माग गर्दै स्वास्थ्य सेवा विभागले शिक्षा तथा विज्ञान मन्त्रालयलाई पत्राचार गरेको छ । स्वास्थ्य सेवा विभागको

पत्रअनुसार सबैखाले विद्यालयमा काम गर्ने शिक्षकको विवरण माग गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

मन्त्रालयले शिक्षकहरुको नाम, फोन नम्बर, पढाउने विद्यालय, पद, नियुक्तिको मिति आदि सबै विवरण पठाउन निर्देशनसहितको पत्राचार गरेको जनाएको छ । देशभर झन्डै २ लाख शिक्षक सामुदायिक विद्यालयमा कार्यरत छन् भने निजी विद्यालयको यसअघि सरकारसँग तथ्यांक नभए पनि अब अध्यावधिक हुने मन्त्रालयले जनाएको छ ।

कोरोनाविरुद्धको खोप १२ वर्षमुनिका बालबालिकाका लागि नबनेको अवस्थामा नेपालको कुल जनसंख्याको ७२ प्रतिशत जनसंख्यालाई दिने प्राथमिकता निर्धारण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो चरणमा ९ लाख ११ हजार र दोस्रो चरणमा ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र दीर्घरोगी गरी ५१ लाखलाई लक्षित गरिएको छ ।

त्यसै गरी तेस्रो चरणमा ४० देखि ५४ वर्षका २९ लाख र पाँचौं चरणमा १५ देखि ३५ वर्षसम्मका ४२ प्रतिशत नागरिकलाई खोप दिने तयारीका लागि सरकारले योजना बनाइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तर सीमित खोप बनेसँगै विश्वले एकैपटक लगाउन सक्ने अवस्था छैन । यति मात्र नभई पछिल्लो दुई सातादेखि बेलायतमा देखापरेको नयाँ कोरोना भाइरस (भेरियन्ट)ले कोरोनाविरुद्धको खोपले काम गर्ने नगर्ने यकिन छैन । यो भाइरस पहिलो चरणमा देखिएभन्दा परिवर्तित र नेपालका ल्याबमा परीक्षणसमेत नहुने हुँदा थप जोखिम बढ्दै छ । नेपाल सरकारले बेलायतबाट सीधै र बेलायतको बाटो हुँदै नेपाल आउने यात्रुलाई नेपाल प्रवेश गर्नासाथै होटलमा बस्न र एक साताभित्र निःशुल्क पीसीआर परीक्षण गरी सरकारलाई जानकारी गराउन निर्देशन दिँदै विशेष निगरानी बढाएको छ । नेपालमा यो अवधिमा २ सय ३९ जना बेलायतको बाटो हुँदै नेपाल भित्रिएका र उनीहरुको कोरोना परीक्षण गर्नुका साथै विशेष निगरानी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराउनुभएको छ ।

यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार अहिले नेपालका कुनै पनि प्रयोगशालामा पछिल्लोपटक बेलायतमा देखापरेको नयाँ कोरोना (भेरियन्ट)को परीक्षणका लागि अपडेट नगरिएकाले एक साताभित्र नेपाल आएका व्यक्तिमध्ये केहीमा कोरोना पुष्टि भइसकेको भए पनि कुन खालको हो भन्न सक्ने अवस्था छैन । नेपालमा भित्रिएका र कोरोना पुष्टि भएका ५ जनामा पुरानै कोरोना भाइरस भएको अनुमान गरी विशेष निगरानीमा उपचार भइरहेको छ ।

कोरोना संक्रमणलाई सामान्य नमानी विगतमा जस्तै सुरक्षा अपनाई माक्स, स्यानिटाइजर प्रयोग गर्ने र बारम्बार साबुन पानीले हात धुने र भीडभाडबाट सकेसम्म टाढै रहनुपर्ने डा. पाण्डे बताउनुहुन्छ । कुनै पनि रोगको खोप उत्पादनका लागि लामो अध्ययन अनुसन्धान गरी ५ देखि १० वर्षको परीक्षणपछि मात्र बजारमा आउने गरेको भए तापनि कोरोना भाइरसविरुद्धको खोप भने विश्वका वैज्ञानिकहरुले छोटो समयमा नै अध्ययन अनुसन्धान गरी उत्पादनको स्वीकृति पाएकै कारण विश्व बजारको मागअनुसार एकैपटक सप्लाइ गर्न सक्ने सम्भावना कमै छ । यो रोगको उपचार तथा औषधी नभएको र भर्खरै खोप उत्पादन भइरहे पनि नेपालमा भित्रिनसकेको र भित्रिन अझै समय लाग्ने हुँदा व्यक्तिगत सुरक्षा अपनाउनुको विकल्प नभएको डा. पाण्डे बताउनुहुन्छ ।