हेटौंडाका सञ्चालक हल खोल्न तयार

0
Shares

हेटौंडा, (नेस) ।

मकवानपुरका हल सञ्चालक आफ्नो संगठन नेपाल चलचित्र संघको निर्णयप्रति सहमति जनाउँदै पुस १० गतेबाट हल खोल्ने तयारीमा छन्। केही समयअघि सिनेमा हल पुग्दा वर्षौंदेखि बन्द भएको र गुम्सिएको महल जस्तै महसुस भएको थियो। हेटौंडाको दुई हलमा मुसाले घर रजाइँसमेत गरेको हल सञ्चालकको भनाइ छ।

हेटौंडाको ओम्याक्स र एनएस सिनेमा हलमा मुसाले सिट र कार्पेट काट्दा सञ्चालकहरु हैरान छन्। करोडांै लगानीमा सञ्चालन गरिएको हल यसरी बन्द हुँदा सञ्चालकलाई घाटा त परेको त थियो नै, त्यही हलबाट आफ्नो गुजारा चलाउँदै आएका मजदुरलाई समेत ठूलो असर परेको छ।

हेटौंडा–४ नारायणी मलमा रहेको एनएस सिनेमा सञ्चालनमा ल्याउन तयारी अवस्थामा रहेको छ। हल सञ्चालक नवराज आचार्य संघको निर्णयमा सहमति रहेको जनाउँदै हल खोल्ने तयारीमा रहेको बताउँछन्। ‘मापदण्ड सरकारले तोक्नुपर्छ। होइन भने हामी चलचित्र व्यवसायी आफैं अघि बढ्नेछौं।’ –आचार्यले चेतावनी दिए। सरकारले बेवास्ता गरे संघ आफैं नियम बनाएर अघि बढ्ने उनले बताए। हल बन्द भएकै कारण हलका करिब ३५ देखि ४० वटा सिट मुसाले काटेर काम नलाग्ने अवस्थामा पु¥याएको छ। हाल सबै मर्मत गरी तयारी अवस्थामा राखिएको उनको भनाइ छ। यस अवधिमा लाखौंको घाटा भएको आचार्यले दुःखेसो पोखे। लकडाउनअघि महिनामा चारदेखि पाँच लाखसम्म कमाइराखेको हल ठप्प हुँदा आफूहरु मारमा परेको आचार्यले बताए। हलमा १२ जना कर्मचारी छन्। जसमा हाल ६ जना कर्मचारी मात्र काममा लगाइएको छ त्यो पनि हलबाहेक काममा संलग्न गरेर। केही कर्मचारी कटौती गरिए पनि अब खुल्ने भएपछि कर्मचारी थप गर्ने उनले बताए।

मकवानपुरे दर्शकको पुरानो हल ओम्याक्स हल पनि सञ्चालनको तयारीमा छ। हल सञ्चालक नरेन्द्र महर्जनले संघको निर्णयप्रति सहमति जनाउँदै हल खोल्ने तयार अवस्थामा रहेको बताए। ओम्याक्स हलमा २०७५ साल साउनमा आगलागी भएको थियो। २०७६ वैशाखमा पुनः नयाँ प्रविधिसाथ हल पुनः सञ्चालनमा आएको थियो। ‘नोक्सान भएको रकम दुई वर्ष जतिमा उठाउने लक्ष्य राखेका थियौं। तर, कोरोना संक्रमणले अप्ठ्यारो पारेको छ।’ –महर्जनले भने।

कोरोना भाइरसको आतंकले विश्व नै आक्रान्त बनेको छ। धेरै देशले संक्रमण फैलन नदिन लकडाउन घोषणा गरे। त्यसमध्ये नेपाल पनि एक हो। करिब ७ महिनासम्म देशका सम्पूर्ण क्षेत्र बन्द हुँदा देशले मात्र नभएर हरेक व्यक्तिले त्यसको सम्पूर्ण असर भोग्नुपरेको छ। सिंगो देश ठप्प भएका बेला फिल्म क्षेत्र पनि बन्द हुन पुगे। अन्य क्षेत्रहरु विस्तारै खुले पनि सिनेमा हल भने अझै खुल्न सकेका छैनन्। सरकारले फिल्म क्षेत्रलाई हेंला गरेको भन्दै हल व्यवसायीको छाता संस्था नेपाल चलचित्र संघले पुस १० गतेबाट हल खोल्ने निर्णय गरेको हो।

नेपाल चलचित्र संघले पत्रकार सम्मेलन गरेर ५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल खोल्ने जनाएको हो। सरकारले सिनेमा हल खोल्न वाधा पुर्‍याए प्रतिकारमा उत्रने चेतावनी पनि चलचित्र संघले दिएको छ। उनीहरुले सरकार र डब्ल्यूएचओले जारी गरेको सुरक्षा मापदण्ड अपनाएर हल खोल्ने भनेका छन्।