मानकृष्णको स्वास्थ्यमा सघाउन नेपाल भाषाको फिल्म बनाइँदै

0
Shares

सबै क्षेत्र खुले पनि फिल्म क्षेत्र नखुलेकै बेला नेपाल भाषामा समेत फिल्म निर्माण हुने भएको छ। निर्माता तथा वितरक गोपाल काजी कायस्थको निर्माणमा लुँयागु तक्मा नामक फिल्म निर्माण हुने भएको हो।

फिल्मको राजधानीको छायाँ सेन्टरमा आयोजित एक समारोहबीच शुभमुहूर्त गरिएको छ। ख्यातिप्राप्त हास्य अभिनेता मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा अभिनेता नीर शाहको क्ल्यापमा फिल्मको मुहूर्त गरिएको हो। सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा रुमन जोशी कार्यकारी निर्माता रहेका छन्। फिल्ममा एक पिताले आफ्ना सन्तानको उन्नतिका लागि आफ्नो जिम्मेवारी बहन गरेर हुर्काउने तर छोराछोरीहरुलाई भने माया बढी हुने विषयलाई मार्मिक ढंगले प्रस्तुत गरिने निर्देशक तुलाधरले बताए। फिल्ममा मानकृष्ण वावा, सुरज व्यञ्जनकार, भोगेन्द्र मानन्धर, रोजिना सुवाल, रञ्जना सितिखुलगायत नवकलाकारहरु रिजन महर्जन र हसना महर्जनको मुख्य भूमिका रहनेछ।

यो फिल्म नेपाल भाषाको संगीत तथा कला क्षेत्रमा लोकप्रिय तथा ख्यातिप्राप्त कलाकार मानकृष्ण वावाको स्वास्थ्य समस्यामा सहयोग गर्ने उद्देश्यले निर्माण गर्न लागिएको निर्माता कायस्थले जानकारी गराए। मानकृष्ण नै फिल्ममा मुख्य भूमिकामा रहनेछन्। विशेषतः भजन संगीतमा रुचि राख्ने मानकृष्णका नेपालभाषाका थुप्रै गीत लोकप्रिय छन् भने नेपालभाषाको टेलिसिरियल ख्वताबजिमा देपां बिइला थेगोसहितको उनको अभिनय धेरैले रुचाएका छन्।

फिल्म माघपछि सुटिङ फ्लोरमा जानेछ। झण्डै ५० लाख बजेटको फिल्म निर्माणपश्चात् च्यारेटी र विभिन्न शोबाट संकलित रकम मानकृष्णको स्वास्थ्य संरक्षण कोषमा जम्मा गरिने निर्माण संस्थाले जानकारी गराएको छ।