सचिवालयले फुकाएन नेकपाको गाँठो

दुवै अध्यक्षको प्रतिवेदन स्थायी समितिमा, दुई अध्यक्षबीच वान टु वान वार्ता


मधुसूदन रायमाझी, काठमाडौं

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र जारी विवाद स्थायी समिति बैठकमा जाने भएको छ । सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनले विवाद चर्काएपछि स्थायी समिति बैठकमा थप छलफल हुने भएको हो । सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन फिर्ता लिनुपर्ने अडानबाट पछि हट्दै स्थायी समिति बैठकमा छलफल गर्न सहमत हुनुभएको छ ।
पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न पार्टीको सर्वोच्च निकाय मानिएको सचिवालय असफल भएको देखिन्छ ।

यसअघि पार्टीभित्र देखिएको विवादको समाधान गर्न सफल भएको सचिवालय यसपटक भने असफल भएको छ ।
एक महिना अघिबाट शुरु भएको सचिवालय बैठकमा गत कात्तिक २८ गते प्रचण्डले अध्यक्ष ओलीमाथि आरोप लगाउँदै प्रश्नसहितको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो । यस प्रस्तावले नेकपामा नयाँ तरंग ल्याएको थियो । प्रचण्डको प्रतिवेदनको जवाफ नदिने अडान लिए पनि मंसिर ३ गते प्रतिवेदनको लिखित जवाफ दिने जानकारी गराउँदै अध्यक्ष ओलीले दश दिनको समय माग्नुभएको थियो । मंसिर १३ गते बसेको सचिवलय बैठकमा प्रचण्डले पेस गर्नुभएको १९ पेजको प्रतिवेदनको जवाफ दिँदै ३८ पेजको लिखित प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

मंसिर १७ गते बसेको सचिवालय बैठकमा प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा सहभागी नहुने ओलीले अडान लिनुभएको थियो । ओलीलाई सहभागी हुन सचिवालय बैठकले तीन दिनको अल्टिमेटम दिएको थियो । अन्ततः शनिबार अध्यक्षद्वय ओली र प्रचण्डबीच वान टु वान वार्ता भएपछि ओली सचिवालय बैठकमा सहभागी हुनुभएको थियो ।

सचिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी समितिलाई दिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । विवादको पूर्वनिर्धारित कार्यतालिकाअनुसार आइतबारको स्थायी समिति बैठकमा अध्यक्षद्वय ओली र प्रचण्ड दुवैको प्रस्ताव छलफलका लागि लैजाने निर्णय भएको बताउनुभयो । निर्णयअनुसार आइतबारको स्थायी समितिमा दुवै प्रस्ताव पेस हुनेछ । ‘पार्टीको संकट र निवारणका सन्दर्भमा छलफल गरेर निष्कर्ष निकालिनेछ ।’ –उहाँले भन्नुभयो ।

सचिवालयको बैठकमा समस्या समाधान गर्नतिर भन्दा पनि अध्यक्षद्वय ओली र प्रचण्डबीच लिखित र मौखिकरूपमा झन् आरोप–प्रत्यारोप भएसँगै सचिवालयले स्थायी समिति बैठकमा लगेर टुंगो लगाइने भएको छ ।

शनिबारको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले प्रस्तावमाथि आ–आफ्नो धारणा राख्नुभएको थियो । सचिवालयका
बहुमत सदस्यले स्थायी समितिको बैठक बोलाइसकिएकाले बाँकी विषय त्यहीं छलफल गर्नुपर्ने सुझाव दिएका थिए ।
ओली र प्रचण्डबीच सहमति जुटाउन बिहीबार र शुक्रबार ओली समूहका सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र स्थायी समितिका सदस्य सुवास नेम्वाङले प्रचण्डसँग छलफल गर्नुभएको थियो ।

पार्टीभित्रको विवाद चर्किंदै गएपछि शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्षद्वय ओली र प्रचण्डसँग शीतल निवासमा छुट्टाछुट्टै छलफल गर्नुभएको थियो । बहुमत सचिवालय सदस्यले बैठकमा नआए प्रक्रियाबाट अगाडि बढ्ने चेतावनी दिएपछि अन्ततः शनिबारको बैठकमा ओली सहभागी हुनुभएको बताइएको छ ।

नेकपाभित्र समाजवादी कार्यदिशा, पार्टीको संगठनात्मक प्रणाली, विधानको कार्यान्वयन, सरकारका काम–कारबाहीलगायतका विषयमा मतभेद रहँदै आएको छ । तर, प्रधानमन्त्री ओलीले भने पार्टीका नेताहरुले सरकारलाई असहयोग गरेका कारण प्रतिफल दिन नसकिएको बताउँदै आउनुभएको छ ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले शीर्ष नेतामा देखिएको विवाद तल्लो कमिटीमा पनि औपचारिकरूपमा प्रवेश गराइने बताउनुभयो । दुई अध्यक्षको आरोप–प्रत्यारोपसम्बन्धी प्रस्तावमा छलफल गरेको भए पनि समाधान निकाल्न नसकिएपछि सबै प्रस्ताव आइतबार बस्ने स्थायी कमिटी बैठकमा लैजाने निर्णय भएको उहाँले जानकारी दिनुभयो । स्थायी समिति बैठकमा बहुमत र अल्मतको आधारमा भन्दा पनि दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल गरेर निर्णय लिने एक स्थायी समिति सदस्यले बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘दुवै अध्यक्षको आरोप–प्रत्यारोपपत्रमाथि छलफल हुन्छ, अल्मत र बहुमतको आधारमा निर्णय हुँदैन, पार्टी सुदृढ एकताको साथ अगाडि बढ्छ ।’