नेता पौडेल पक्राउको विरोधमा प्रम ओलीको पुत्ला दहन

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाली कांगे्रसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको विरोधमा तरुण दल भक्तपुरले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । भक्तपुरको सल्लाघारी स्थित तिनकुने चोकमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो । कांग्रेस भातृ संगठन तरुण दलको आयोजनामा भएको विरोधमा सभामा कांग्रेस जिल्ला सभापति दुर्लभ थापा, जिल्ला कार्यसमिति भक्तपुरका पदाधिकारीहरू, महासमिति सदस्य र स्थानिय पार्टी कार्यकर्तासहितको उपस्थितिमा रहेको थियो ।

सल्लाघारी चोक देखि तिनकुनेसम्म सरकार र प्रधानमन्त्री ओली बिरुद्ध नारा लगाउँदै प्रहरी दमनको बिरुद्ध अरनिको राजमार्ग अन्तर्गतको सल्लाघारी तिनकुने चोकमा पुत्ला जलाएको हो । करिव १५ मिनेट भएको बिरोध जुलुस र पुत्ला जलाएको कार्यक्रम शान्तिपुर्ण रुपमा सम्पन्न भए पनि राजमार्ग अबरुद्ध पारिएको थियो ।

विरोधसभालाई सम्बोधन गर्दै तरुण दलका अध्यक्ष राजु थापाले सरकार निरंकुश शैलीमा अघि बढेको आरोप लगाउँदै अलोकतान्त्रिक हर्कत रोक्न सरकारलाई चेतावनी दिनुभयो । सो क्रममा प्रशासनले उल्लेख्य संख्यामा प्रहरी परिचालन गरी सुरक्षा ब्यबस्था कडा पारेको थियो ।

बुधबार तनहुँको ब्यास नगरपालिकामा पुलको उद्घाटन गर्न पुगेका पौडेललाई प्रशासनले तीन घण्टा नियन्त्रणमा लिएको थियो । पौडेल पक्राउको विरोधमा कांग्रेसका भातृ संगठनहरुले बुधबारदेखि नै देशव्यापी आन्दोलन चर्काएका छन् । बुधबार उद्घाटन गर्न नपाए पनि पौडेलले आज बिहीबार दिउँसो उक्त पुलको उद्घाटन गर्नुभएको छ ।