पौडेलको गिरफ्तारी, देउवाको आक्रोश

प्रम ओलीलाई देउवाको फोन– ‘तपाईंले के गर्न खोजेको ?’


नेपाल समाचारपत्र, काठमाडौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउको विषयलाई लिएर प्रधानमन्त्री केपी ओलीसँग आक्रोश व्यक्त गर्नुभएको छ ।

बुधबार तनहुँमा एक पुल उद्घाटन गर्न जान लागेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि देउवाले ओलीसँग आक्रोश व्यक्त गर्नुभएको हो ।

सभापति देउवाले प्रधानमन्त्री ओलीलाई पौडेल पक्राउ परेलगत्तै टेलिफोन गरेर पौडेल पक्राउको कारण सोधेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सभापतिको प्रश्नमा प्रधानमन्त्री ओलीले झडप हुने अवस्था देखिएकाले शान्ति सुरक्षाका लागि पौडेललाई नियन्त्रणमा लिइएको जवाफ दिनुभएको थियो ।

देउवाको भनाइ उद्धृत गर्दै स्वकीय सचिव देउवाले प्रश्न गर्नुभयो– ‘शान्ति–सुरक्षाका लागि भए पौडेलजीलाई किन घर नलगेको? किन चौकी लगेको?’

बुधबार दिउँसो व्यास नगरपालिकामा नवनिर्मित पुल उद्घाटनका लागि पौडेल जानुभएको थियो । तर उद्घाटन कार्यक्रमको विषयलाई लिएर नेकपाका कार्यकर्ताहरुले अवरोध गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा नै जारी गरेको थियो ।

तर, पौडेलले सत्ताको दुरुपयोग गर्दै कार्यक्रम बिथोल्ने प्रयास भएको भन्दै जिल्ला प्रशासनको निषेधाज्ञा अवज्ञा गर्ने घोषणा गर्नुभएको थियो ।

उहाँले पुल उद्घाटन गरेरै छाड्ने अडान लिएर कार्यकर्तासहित पुल उद्घाटनका लागि जाँदै गर्दा उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तनहुँ जिल्ला व्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको हुँदा कांग्रेस नेताले नै उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो ।

पक्राउ परेको तीन घण्टापछि नेता रामचन्द्र पौडेल रिहा हुनुभएको थियो । रिहा भएपछि नेता पौडेलले लोकतन्त्र अपमानित भएको प्रतिक्रिया दिनुभयो । उहाँले आफूलाई लाठीले पेलेर बोल्नै नसक्ने बनाएको जानकारी गराउनुभयो ।

वरिष्ठ नेता पौडेलसँगै कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पौडेल पक्राउ परेपछि कांग्रेसले ठाउँठाउँमा विरोध जुलुस निकालेको थियो । नेपाल विद्यार्थी संघले बुधबार साँझ माइतीघर मण्डलामा प्रदर्शन गरेको थियो ।