त्रिविले दियो कक्षा सञ्चालन गर्न निर्देशन


नेपाल समाचारपत्र, काठामाडौं

त्रिभुवन विश्वविद्यालयले स्थानीय तहसँग समन्वयन गरेर क्याम्पस खोल्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्र सञ्चालन गर्ने गरी कार्यढाँचा सार्वजनिक गरेसँगै त्रिविले सबै क्याम्पस खोल्न निर्देशन दिएको हो ।

त्रिविका रजिस्टार प्राडा पेशल दाहालले जोखिम नभएका र कम जोखिम भएका जिल्लाका क्याम्पस प्रमुखलाई क्याम्पस खोल्न निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘ती जिल्लामा जोखिम न्यूनीकरण गरी कक्षा सञ्चालन गर्न निर्देशन दिएका छौं ।’

त्रिवि रजिस्टार कार्यालयले हिजो मंगलबार सार्वजनिक सूचना जारी गरी त्रिविअन्तर्गत सबै क्याम्पस, विभाग र स्कुलले स्थानीय तहले तोकेको समयसीमा र मापदण्ड रहने गरी क्याम्पस खोल्न निर्देशन दिएको थियो ।

रजिस्टार प्राडा दाहालका अनुसार जोखिम बढी भएका उपत्यका र केही शहरी क्षेत्रमा अवस्था हेरेर निर्णय गर्न र जोखिम कम भएका जिल्लामा तत्काल खोल्ने गरी निर्देशन दिएको छ ।

त्रिविले यही २८ गतेदेखि सबै तहको परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । चैतदेखि

रोकिएका परीक्षा माघ पहिलो सातासम्म सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ । रजिस्टार कार्यालयले भौतिक उपस्थितिमा परीक्षा लिने र लगत्तै कक्षा सञ्चालन गर्नेगरी तयारी थाल्न सबै निकायलाई निर्देशन दिएको छ ।

‘लामो समयदेखि क्याम्पस बन्द भएका कारण पठन पाठन अस्तव्यस्त भएपछि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएका हौं।’ –रजिस्टार प्राडा दाहालले भन्नुभयो ।

‘हामीले सरकारले तय गरेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड लागू गरेर सकेसम्म विद्यार्थीलाई क्याम्पसमै उपस्थित गराएर कक्षा सञ्चालन गर्न निर्देशन दिएका हौं।’ –रजिस्टार दाहालको भनाइ थियो ।

कोरोना संक्रमण नभएका जिल्लामा तत्काल, कम भएका जिल्लामा अवस्था हेरेर र संक्रमण बढी भएका जिल्लामा स्थानीय तहको समन्वयमा क्याम्पस खोल्न निर्देशन दिएका हौं।’ –रजिस्टार प्राडा दाहालले भन्नुभयो ।

त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेलगत्तै त्रिवि रजिस्टार कार्यालयले सार्वजनिक सूचना जारी गरी क्याम्पस खोल्ने निर्णय गरेको थियो ।

रजिस्टार कार्यालयले सार्वजनिक सूचना जारी गरेलगत्तै त्रिविले सबै संकायका डीन कार्यालयलाई पत्राचार गरेको थियो । त्रिविका आंगिक क्याम्पसले वैकल्पिक विधिबाट समेत कक्षा सञ्चालन गर्न नसकेपछि त्रिविले बाध्य भएर सबै क्याम्पस प्रमुखलाई क्याम्पस खोल्न निर्देशन दिएको हो ।

रजिस्टार प्राडा दाहालका अनुसार अब सम्भब भएसम्म सबै क्याम्पसले अनिवार्यरुपमा कक्षा सञ्चालन गर्नुपर्ने छ ।

त्रिविले कक्षा सञ्चालन गर्ने विषयमा सरोकारवाला निकाय शिक्षा मन्त्रालयसँग समन्वय गरिसकेको छ । त्रिविले परीक्षालगत्तै भौतिकरुपमा कक्षा सञ्चालन गर्न आवश्यक तयारी थालेको छ ।