नेकपा सचिवालय बैठक : ओली र प्रचण्डबीच भनाभन

बैठक अहिले नराखौं : ओली, बैठकबाटै निर्णय गरौं : प्रचण्ड


मधुसूदन रायमाझी, काठमाडौं

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र पत्राचारबाट शुरु भएको विवाद थप चुलिँदै गएको छ । कार्यकारी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेस गरेको लिखित प्रस्तावका विरुद्ध प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले पनि लिखित जवाफ दिइसक्नुभएको छ ।

लिखितरुपमा नै आरोप प्रत्यारोपमा उत्रिएका अध्यक्षद्वय ओली र प्रचण्डबीच फेरि भनाभन भएको छ । ओलीले सचिवालय बैठकमा पेस गरेको लिखित प्रतिवेदनको अध्यक्ष प्रचण्डले प्रतिवाद गर्नुभएको बताइएको छ ।

मंगलबार अध्यक्षद्वय ओली र प्रचण्डले ल्याएको फरक÷फरक प्रतिवेदनमा बचाउ गर्नुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक ओली र प्रचण्डबीच भनाभनबाट शुरु भएको थियो ।

प्रचण्डले ओलीमाथि प्रश्नको वर्षा गर्दै प्रतिवेदन ल्याएपछि ओलीले पनि प्रचण्डको काउन्टरमा प्रतिवेदन सचिवालय बैठकमा पेस गरेपछि दुई अध्यक्षबीच थप विवाद चर्किएको छ ।

दुई अध्यक्षको प्रतिवेदन पार्टीको वैचारिक लाइन, नीति र एजेन्डामा भन्दा पनि व्यक्तिगत र राजनीतिक खिचातानीमा केन्द्रित भएपछि दुवै अध्यक्षले आ–आफ्नो अडान सचिवालय बैठकमा राखेका छन् ।

पार्टीभित्र देखिएको विवाद समाधान गर्न मंगलबार बसेको सचिवालय बैठकमा दुई अध्यक्षबीच निकै चर्काचर्कीरुपमा आरोप प्रत्यारोप चलेपछि अन्य नेताहरुले सम्झाउँदै समाधानको दिशातर्फ जानुपर्ने आग्रह गर्नुपरेको सचिवालयका एक सदस्यले बताए । ती सदस्यले भने– ‘अब पार्टीमा यहाँभन्दा बढी समस्या आउने ठाउँ नै छैन, भिडेर समस्याको समाधान हुँदैन, मिलेर अगाडि बढ्नुहोस् भनेर हामीले भनेका छौं ।’

विगतमा पार्टीभित्र विवाद उत्पन्न हुँदै अध्यक्षद्वयबीच बारम्बार छलफल हुने गरेको थियो । तर गत कात्तिक २५ गतेयता ओली र प्रचण्डबीच एकपटक पनि छुट्टाछुट्टै संवादसमेत हुन सकेको छैन । दुवै अध्यक्षले एकले अर्कालाई गलाउने रणनीति अख्तियार गर्दै प्रतिवेदनलाई प्रतिष्ठाको विषय बनाएको बताइएको छ ।

सचिवालयको बैठकमा प्रचण्डको पेस गरेको प्रस्ताव फिर्ता हुनुपर्ने अडान ओलीले राखेपछि प्रचण्डले प्रतिवाद गर्दै कुनै पनि हालतमा प्रतिवेदन फिर्ता नहुने सचिवालयमा निर्णय नभए स्थायी कमिटी र केन्द्रीय कमिटीमा लैजानुपर्ने अडान राखेको सचिवालयका ती सदस्यले बताए ।

ओलीको भनाइ उद्धृत गर्दै सचिवालयका ती सदस्यले भने– ‘प्रचण्डको प्रस्तावको कारण थप समस्या भयो, अहिले बैठकको औचित्य छैन, बैठक नराखौं, संवाद गरेर सहमति जुटेपछि मात्र बैठक बसौं ।’

जवाफमा प्रचण्डले बैठक नराख्ने कुरा गलत हुने बताउँदै बैठकबाट निस्किने निचोडलाई सबैले मान्नुपर्ने जिकिर गर्नुभएको बताइएको छ । महासचिव विष्णु पौडेलले प्रचण्डको प्रस्तावको प्रतिवाद गर्नुभएको थियो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा ओली र प्रचण्ड दुवैको प्रस्तावमाथि छलफल शुरु भएको औपचारिक तथा अनौपचारिक तहबाट छलफल गरेर समस्याको समाधान खोजिने बताउनुभयो । बैठकमा प्रचण्ड र ओलीले आफ्नो धारणा राख्नुका साथै पार्टी विभाजन हुन नदिन सबैले प्रतिबद्धता व्यक्त गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

मंगलबारको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइए पनि प्रधानमन्त्री ओलीको कारण प्रधानमन्त्री निवास बालुवाटारमै बसेको थियो । सचिवालय बैठक बस्नुअघि बैठकस्थलमा महासचिव विष्णु पौडेलको जन्मदिनको अवसरमा केक काटेर नेताहरुले शुभकामना दिएका थिए ।