‘नेकपामा यदुबंशी तरिकाले चरी नाङ्गै’ : पूर्व मन्त्री बास्कोटा

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे । 

नेकपाका केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज तथा पूर्व मन्त्री गोकुल बास्कोटाले नेकपा भित्रको विवादलाई यदुबंशीको संज्ञा दिनुभएको छ । ‘नेकपालाई नेपाली नागरिकले मत दिएको विकास र समृद्धीका लागि हो, यदुबंशी तरिकाले चरिनाङ्गै बनाउने कार्य गलत छ’–बास्कोटाले भन्नुभयो ।

नमोबुद्ध नगरपालिकाको सातौ स्थापना दिवसको अवसरमा नेकपा नेता समेत रहेका पुर्व मन्त्री बास्कोटाले सरकारले गरेका राम्रा कामहरुबाट आत्तिएकाहरुले भ्रमपूर्ण तथ्याङ्क प्रस्तुत गरी सरकारलाई बदनाम गर्न खोजे पनि सरकार समाजबादउन्मुख भएको बताउनु भयो । ‘अहिल्यै समाजबाद लागु भयो कि भएन भन्ने बेतुकको बहस हो’–पुर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘सरकार र नेकपा समाजबाद उन्मुख छ ।

समाजबाद उन्मुख अर्थतन्त्र, पूर्वाधार निर्माण, नागरिकहरुका आधारभुत आवश्यकता पुरा गर्न स्वास्थ्य विमा, दुर्गम क्षेत्रमा सुत्केरी हुन नसकेका महिलाहरुका लागि राष्ट्रपति उद्धार कार्यक्रम, एकल महिला, अपाङ्गता भएका ब्यक्ति, जेष्ठ नागरिक भत्ता त्यसका नमुना हुन् ।’ सरकारले सयौ वर्ष देखि छिमेकी देश भारतले अतिक्रमण गरेको सिमा अतिक्रमण हटाउँदै त्यहाँ रहेका सेना हटाउन पहल गर्नु, नक्सा जारी गर्नु, छिमेकी देश चीनसँग आर्थिक सहयोगको सम्झौता गर्नु ?

गलत नभएको बताउँदै पार्टी भित्र भएको विवादले मुुलुकमा राजनीतिक अस्थिरता भयो भने मुलुकमा प्रगति सम्भव नभएको बताउनु भयो ।
‘नेकपाका नेताहरुले भएको घर जलाएर खरानी लिएर पछि टाउकोमा हात राख्दैनन भन्ने विश्वास छ’–पुर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘नेकपा फुटाउने धृष्टता कसैले नगरोस् । कार्यकर्ताहरुलाई निराशा नबनाउ ।

आफुनै शक्ति चिन्न नसकेर उज्यालोबाट अध्यारो तर्फ नधकेलौ ।’ बास्कोटाले भकुण्डे बजारमा रहेका प्रदुषित उद्योग विस्थापन सकारात्मक कदम भएको भन्दै खुशी व्यक्त गर्नुभ यो । इँटा उद्योग विस्थापन पछि भकुण्डे क्षेत्रको वातावरण स्वच्छ भएको बताउँदै बास्कोटाले नगरपालिकामा जनप्रतिनिधि आएपछि विकास निर्माणका क्षेत्रमा पनि धेरै काम भएको बताउनु भयो । नमोबुद्ध नगरपालिकामा भएके खानेपानीको समस्या समाधान गर्नै पहल भईरहेको बताउँदै पूर्वाधार निर्माणमा विशेष जोड दिएको बताउनु भयो ।

वर्तमान सरकार नेपालको संविधान कार्यान्वयन, नाकाबन्दी पछिको चुनौती, भुकम्प पछिको पुर्ननिर्माण र कोरोना भाइरसको चुनौतीको सामाना गर्दै अघि बढेको बताउँदै बास्कोटाले देशमा केही काम भएन भन्नेहरुका लागि विभिन्न क्षेत्रमा भएका पूर्वाधार निर्माणको कामले जवाफ दिएको बताउनु भयो ।

नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जनताको अपेक्षा अनुसार काम गरिरहेको र सबै पक्षको सकारात्मक सहयोगबाट समृद्धिको सपना पुरा हुने बताउनु भयो । नगरभित्र सडक, खानेपानी, शिक्षा स्वास्थ्य लगायत विकासका क्षेत्रमा नगरपालिकाले विशेष जोड सहित नीति कार्यक्रम र बजेट कार्यान्वयन गरिरहेको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले बताउनु भयो ।

स्थापना दिवसको अवसरमा संघिय सांसद गंगाबहादुर दोङ्ग, पुर्व राज्य मन्त्री रेशम लामा, संविधान सभा सदस्य रामहरी सुवेदी, प्रदेश सांसद चन्द्र लामा, रत्न ढकाल, गोमा भुर्तेल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले नगरको समग्र अवस्थाबारे जानकारी गराएका थिए ।