ललितपुर महानगरको सह्रनीय काम

सडकका बेवारिसेलाई छाना र खानादिने आश्रमलाई आर्थिक सहयोग


न्युन अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरको सडक किनारामा रहेका बेवारिसे मान्छेको आवास र खानपानको व्यवस्था गर्न ललितपुर महानगरपालिका र मानव सेवा आश्रमबीच सम्झौता भएको छ । सम्झौता पत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन मानव सेवा आश्रमका केन्द्रिय उपाध्यक्ष धर्मप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थिति थियो । सम्झौता पत्रमा उल्लेख भए अनुसार घरभाडा स्वरुप महानगरले आश्रमलाई सात लाख सहयोग गरेको छ । आश्रमको भाडाको भवन अहिले वडा नं २३ स्थित धापाखेलमा छ ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले आश्रमले गरिरहेको काम प्रसंसनीय भएको बताउँदै भने, ‘ महानगरले आश्रमलाई निरन्तर आर्थिक सहयोग गर्दै आइरहेको छ , यसलाई रातो किताबमै उल्लेख गरेर निरन्तरता दिन्छौं ।’यस वर्ष भैपरी शीर्षक अन्तर्गत रहेर महानगरले आश्रमलाई सहयोग गरेको उनले जानकारी दिए ।

आश्रमले सडक किनारामा रहेका बेवारिसे बालबालिका , जेष्ठ नागरिक, मनोरोगी तथा अशक्त, घर परिवारबाट त्यागिएकालाई बस्ने ठाउँ र खानाको व्यवस्था गर्छ । केन्द्रिय उपाध्यक्ष पौडेलका अनुसार स्वास्थ्य समस्या देखिएकाहरुको समेत आश्रममा उपचार हुन्छ । हाल सातै प्रदेशमा आश्रमको शाखाहरु छन् ।

देशभरका २१ सेवा केन्द्रमा विभिन्न उमेर समूह ११ सय सडक किनाराबाट ल्याइएकाहरु बस्छन् । सेवा केन्द्रमा डेढ वर्षका बालबालिकादेखि ८५ वर्षका जेष्ठ नागरिकसमेत रहेको मानव सेवा आश्रम ललितपुर जिल्ला संयोजक रश्मि आचार्यले बताइन् । अन्तराष्ट्रिय संघसंस्थाको सहयोग नलिई आश्रम संचालन गरेको उनले जानकारी दिइन् ।