रुद्रायणी मन्दिर काँचुली फेर्दै


नेपाल समाचारपत्र, ललितपुर

प्रधानमन्त्री केपी ओलीकी धर्मपत्नी राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले ऐतिहासिक नगरी खोकनाको रुद्रायणी मन्दिरको संरक्षणका बारेमा चासो देखाउनुभएको छ ।

२०७२ सालको शक्तिशाली भूकम्पले क्षतिग्रस्त मन्दिरको अवस्थाबारे जानकारी लिन र खोकनाको महत्वपूर्ण चाड पूर्णिमा नाच अवलोकन गर्न प्रम पत्नी शाक्य र मन्त्री श्रेष्ठ खोकना पुग्नुभएको थियो ।

प्रम पत्नी शाक्यले रुद्रायणी मन्दिर पुनर्निर्माण गर्ने विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘मन्दिरको अवस्था हेर्दा राम्रो देखिएको छ तर भूकम्पले गर्दा भित्रभित्रै भत्किन थालेको देखियो ।’ मन्त्री श्रेष्ठले पुरातात्विक र ऐतिहासिक कला संस्कृतिको नगरी खोकनाको मुख्य मन्दिर रुद्रायणीको तत्काल जीर्णोद्धार गर्नुपर्ने बताउनुभयो ।

‘रुद्रायणी मन्दिर र खोकनाको अवस्थाबारे प्रधानन्त्रीज्यूले गम्भीर चासो राखेपछि उहाँकी धर्मपत्नी र म यस ऐतिहासिक नगर अवलोकन गर्न आएका हौं।’ –मन्दिर परिसर र खोकनाको पूर्णिमा नाच अवलोकन गरेपछि मन्त्री श्रेष्ठले भन्नुभयो। उहाँले भूकम्पले क्षतिग्रस्त मन्दिर र अन्य सम्पदा पुनर्निर्माण गर्ने विषयमा सरकारले तत्काल पहल गर्ने बताउनुभयो ।

अवलोकन गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारीसमेत पुग्नुभएको थियो ।

अवलोकनपछि पुरातत्व विभागका महानिर्देशक गौतमले भूकम्पले क्षतिग्रस्त रुद्रायणीको पुनर्निर्माण गर्ने बताउनुभयो । उहाँले सातौं शताब्दीदेखिको इतिहास बोकेको खोकनाको गुरुयोजना बनाएर सम्पदा संरक्षण गर्नुपर्ने बताउनुभयो ।

‘यो शहरको तेल मिललाई बचाउनुपर्छ, इतिहास चिनाउने निजी र सार्वजनिक भवनलाई परम्परागत सामग्री प्रयोग गरी निर्माण गरेर संरक्षण गर्नुपर्छ ।’ –गौतमले बताउनुभयो। उहाँले सिमेन्ट प्रयोग गरेर भवन निर्माण गर्दा सम्पदा क्षेत्र संरक्षण हुन नसक्ने बताउनुभयो ।

लगत्तै मन्त्री श्रेष्ठले खोकनाको सम्पदा विकासका लागि सरकारले सक्दो सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘शतप्रतिशत आदिवासी बस्दै आएका यो क्षेत्रको सांस्कृतिक र पुरातात्विक क्षेत्रलाई विकास गर्न सरकार सम्पूर्णरुपमा तयार छ । रुद्रायणी मन्दिर पुनर्निर्माण गर्न तत्काल पहल गर्नेछौं।’

ललितपुुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले भूकम्पले क्षतिग्रस्त रुद्रायणीलगायत खोकनाको सम्पदा पुनर्निर्माण गर्न प्रमपत्नी शाक्य र मन्त्री श्रेष्ठलाई आग्रह गर्नुभएको थियो । प्रम पत्नी शाक्य र मन्त्री श्रेष्ठले देवता खलकको नाच अवलोकन गर्नुभएको थियो ।