किशोरी बलात्कार प्रकरण: वडा अध्यक्षसहित थप ४ पक्राउ


बैतडी, (नेस)

बैतडीमा किशोरी बलात्कार प्रकरणमा वडा अध्यक्षसहित थप ४ जना पक्राउ परेका छन् । सिगास गाउँपालिका–३ का वडा अध्यक्ष शेरसिंह साउदसहित थप ४ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यस्तै सोही ठाउँका राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई पनि शनिबार साँझ पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । योसँगै किशोरी बलात्कार प्रकरणमा ६ जना पक्राउ परिसकेका छन् ।

यसअघि गएको बिहीबार सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिएको थियो । उनीहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो । बलात्कार घटनाका मुख्य आरोपित सिगास–३ का दीपकसिंह धामी भने फरार रहेका प्रहरीले जनाएको छ । उनी पहिला नै भारत भागिसकेको प्रहरीले जनाएको छ ।

सिगास गाउँपालिका–३ की १८ वर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको र गत असार १४ गते गाउँमै तमसुक बनाएर सो घटना मिलाउन खोजिएको थियो । तमसुकमा पीडित पक्षलाई कार्तिक मसान्तभित्र एक तोला सुन दिने भनिएको थियो । पीडित पक्षलाई सुन नदिएपछि बलात्कारको घटना बाहिर आएको हो ।

यो घटना बाहिर आएपछि प्रहरीले यसलाई गम्भीरताका साथ लिएको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । यो घटनामा मुख्य आरोपित फरार रहेपछि घटनालाई ढाकछोप गर्ने वडा अध्यक्षसहितका व्यक्तिलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।