चिनियाँ रक्षामन्त्री वेई आज आउँदै

आजै बंगलादेश जाने


नेपाल समाचारपत्र, काठमाडौं

छिमेकी मुलुक चीनका राज्य परिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्हे आज आइतबार केही घण्टाका लागि नेपाल भ्रमणमा आउनुहुने भएको छ । केही दिन अघिदेखि वेईको नेपाल भ्रमण हुने भनिए पनि शनिबार बिहान मात्र चिनियाँ सरकारले उहाँको औपचारिक भ्रमणको घोषणा गरेको हो ।

चिनियाँ उच्च अधिकारी वेई चिनियाँ जनमुक्ति सेनाका प्रमुखसमेत हुनुहुन्छ । उहाँ वरिष्ठ राज्य परिषद् सदस्य हुनुहुन्छ । आइतबार बिहान नेपाल आउनुहुने उहाँ आइतबार साँझ नै नेपालबाट बंगलादेश जानुहुने भएको छ ।

२०७६ कात्तिक १ देखि ६ गतेसम्म चीनको भ्रमण गर्नुभएका उपप्रधान तथा तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले उहाँलाई कात्तिक ३ गते नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । उहाँले निमन्त्रणालाई स्वीकार गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताउनुभएको थियो ।

उपप्रधानमन्त्री पोखरेलको भ्रमणको दौरानमा कात्तिक ३ गते भएको सैन्य सम्झौतामा चीनले नेपाललाई २ अर्ब ५३ करोड बराबरको सहयोग गर्ने घोषणासमेत गर्नुभएको थियो । चीनले घोषणा गरेको उक्त सैन्य सहयोग अहिलेसम्म नेपालले प्राप्त गर्न सकेको छैन ।

नेपाल भ्रमणमा आउनुहुने मन्त्री वेईलाई नेपाली सेनाको एक टुकडीले सैनिक मुख्यालयनजिकै गार्ड अफ अनर दिने भएको छ । नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायतका अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

चीनले नेपाललाई दिने सहयोगका बारेमा समेत घोषणा हुने अपेक्षा गरिएको छ । उपत्यकाको चक्रपथको बाँकी कामलाई सञ्चालन गर्ने विषयमा समेत कुराकानी हुने बताइएको छ ।

चिनियाँ रक्षामन्त्री वेईको भ्रमणलाई लक्षित गरेर सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उहाँको भ्रमणमा चाहिने सुरक्षाको तयारी पूरा भएको जानकारी दिनुभयो ।

भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाले नेपाल भ्रमण गरेको दुई दिनपछि वेईको नेपाल भ्रमण हुन लागेकोमा यसलाई अर्थपूर्णरुपमा हेरिएको छ । नेपाल–भारत, चीन–भारतबीच सीमानाको विषयामा विवाद भइरहेका बेला भारतीय विदेश सचिवको भ्रमणपछि नेपाल भारतबीच संवाद शुरु भएको मानिएको छ । चीनका रक्षामन्त्रीले नेपाल भ्रमण गर्ने विषयलाई लिएर भारतले असन्तुष्टि जनाएको छ ।