कृषि क्षेत्र सुधारका लागि जङ्गी नीति आवश्यक : मन्त्री भुसाल

0
Shares

काठमाडौं ।कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको सुधारका लागि जङ्गी नीति आवश्यक रहेको बताउनुभएको छ ।

केन्द्रीय दुग्ध सहकारी सङ्घद्वारा आज चितवनको सौराहामा आयोजित ‘दुग्ध क्षेत्रका समस्या, चुनौती, समाधान र अवसर’ विषयक एकदिवसीय कार्यशालालाई सम्बोधन गर्दै उहाँले कृषि क्षेत्रको सुधारका लागि पाँचवटा नीतिगत आधार निर्माण भएको बताउनुभयो ।

“दूध बिक्री नहुने समस्याको समधानतर्फ सरकारले काम गरिरहेको छ”, उहाँले भन्नुभयो, “कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण दुग्ध क्षेत्रमा मात्र नभई सबै कृषि उपजको बिक्रीमा समस्या भएको छ । सरकारले उत्पादित वस्तुको बिक्रीको ग्यारेण्टी लिने गरी अगाडि बढेको छ ।”

मन्त्री भुसालले नेपालमा उत्पादन भएको दूध बढी लागतमा उत्पादन हुने भएकाले कृषक सधँै मारमा परेको उल्लेख गर्दै यहाँ प्रयोग हुने कमजोर प्रविधिलाई सुधार गर्दै जानुपर्नेमा जोड दिनुभयो । कृषि क्षेत्रको दिगो विकासका लागि नयाँ तथ्याङ्क सङ्कलन गर्ने काम शुरु गरिएको जानकारी दिदैं उहाँले नेपालमा अहिले पनि ३५ वर्ष पुरानो तथ्याङ्कको अधारमा योजना निर्माण गर्दा अहिलेको समस्याको प्रभावकारी समाधान हुन नसकेको बताउनुभयो ।

नेपालमा उत्पादन हुने दूध ५० प्रतिशत घरबाट, ३० प्रतिशत निजी डेरी र २० प्रतिशत दुग्ध विकास संस्थानबाट बजारमा जाने गरेको तथ्याङ्क छ । नेपालमा प्रतिदिन सात लाख लिटर दूध उत्पादन हुने गरेको छ ।