६ वर्षीया बालिकाको बलात्कारपछि हत्या, प्रदर्शनकारीमाथि गोली प्रहार


महोत्तरी, (नेस)

एक बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा बलात्कारीलाई हदैसम्मको कारबाहीको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्ने प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा ३ जना घाइते भएका छन् ।

प्रदर्शनकारीले हत्याको अभियोगमा पक्राउ परेका अरुणकुमार साहको घरसमेत जलाएर मृत अवस्थामा फेला परेकी ६ वर्षीया बालिका गुलाव खातुनको शव राजमार्गमा राखेर प्रदर्शन गरेपछि प्रहरीले अवरुद्ध राजमार्ग खुलाउन पटकपटक हवाई फायर र अश्रुग्यास प्रहार गर्दा पनि अवस्था तनावग्रस्त बन्दै गएपछि गोली प्रहार गर्दा ३ जना घाइते भएका थिए ।

घाइतेमध्ये दुईको अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ भने एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बिहानैदेखि सडक अवरुद्ध भएपछि स्थानीय प्रशासन र प्रदर्शनकारीबीच पटकपटक भएको वार्ता विफल भएको थियो । सुरक्षा निकायले बल प्रयोग गरेर राजमार्ग खुलाउन खोज्दा उक्त घटना भएको सशस्त्र प्रहरी बल २ नम्बर प्रदेश मुख्यालय बर्दिवासले जनाएको छ ।

घाइतेमध्ये सञ्जय न्यौपाने र श्याम कार्कीलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने हरि शर्माको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

पक्राउ परेका साह त्यहाँ हुने विभिन्न आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको भन्दै स्थानीयले साहमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग राख्दै आन्दोलन गरेका हुन् ।

सुरक्षा निकायले आन्दोलनकारीमाथि दमन गरेको विरोधमा आज बुधबार पनि प्रदर्शन गर्ने आन्दोलनकारी समूहले जनाएको छ ।