नेपाल संवत् सबै नेपालीको संवत्


नेपाल समाचारपत्र, काठमाडौं

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल संवत् नेवार समुदायको मात्रै नभई सबै नेपालीको संवत् भएको बताउनुभएको छ । मध्यपुर ठिमीस्थित शंखधर चोकमा शंखधर सामुदायिक भवन तथा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको भवनको उद्घाटन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

११४१ वर्षअघि ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका राष्ट्रिय विभूति साख्वाःको सम्मानमा शंखधर दिवसको अवसर पारेर उद्घाटन गरेको भवनले साख्वाःको योगदानलाई चीरस्मरणीय बनाउने पनि प्रमुख शाक्यले बताउनुभयो ।

‘कतिपयलाई नेपाल संवत् नेवार समुदायको मात्रै हो भन्ने भ्रम हुने गरेको छ’, शाक्यले भन्नुभयो– ‘नेपाल संवत् राष्ट्रिय संवत् हो । यो सबै नेपालीको संवत् भएकाले यसमा कसैले पनि भ्रम पाल्नुहँुदैन ।’

शाक्यले शंखधर राष्ट्रिय विभूति भएको भन्दै उहाँको सम्मान गर्नु भनेको आफ्नै देशको तिथि–मितिको सम्मान गर्नुभएको पनि स्मरण गराउँनुभयो । ‘केही दिनअघि मात्रै काठमाडौं महानगरपालिकाले उल्लेखनीय योगदान दिएका वैभव व्यक्तित्व साख्वाःको अमर योगदानको सम्मान गर्दै ‘शंखधर उद्यान’मा सालिक स्थापना गरिसकेको छ।’ –शाक्यले भन्नुभयो ।

‘म उहाँहरुलाई अनुरोध गर्न चाहन्छु । राष्ट्रिय विभूति शंखधरको सम्मानका महानगरपालिकाले कुनै कन्जुस्याइँ गर्नेछैन । शंखधरको भव्य सालिक निर्माणका लागि उपयुक्त स्थान उपलब्ध कसैले गराउँछ भने हातेमालो गर्न र आर्थिक सहयोग गर्न महानगरपालिका तयार छ ।’ –शाक्यले भन्नुभयो ।

राष्ट्रिय विभूति शंखधर साख्वाः दिवसको उपलक्ष्यमा मंगलवार नै कामपा–१५ वडास्थित लखुतीर्थमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पनि उहाँले त्यही बताउनुभयो । शंखधरसँग जोडिएको उक्त लखुतीर्थलाई काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गरी धार्मिक पार्कका रूपमा विकास गर्न लागेको छ । प्रमुख शाक्यले उक्त पार्क निर्माण भइसकेपछि शंखधर साख्वाःको थप सम्मान हुने अपेक्षा लिएको पनि बताउनुभयो ।

भक्तपुरको कार्यक्रमलाई सम्बोधन गर्दै मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले आजभन्दा ११४१ वर्षअघि ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका शंखधर साख्वाः अहिले पनि उपत्यकाबासीको मन–मुटुमा रहेको स्मरण गराउनुभयो ।

उहाँले नेपाल सरकारले नेपाल संवत् ११२० कछलाथ्व दशमी अर्थात् विसं २०५६ मंसिर २ गते साख्वाःलाई राष्ट्रिय विभूति घोषित गरेको स्मरण गराउँदै उहाँको सम्मानमा सामुदायिक र प्रतिष्ठानको भवन निर्माण गरी हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

श्रेष्ठले नगरपालिकाको ९० लाख, सांसद महेश वस्नेतको सांसद कोषबाट ५० लाख र शंखधर प्रतिष्ठानका तर्फबाट जन श्रमदानसहित १० लाख गरी एक करोड ५० लाखमा सो भवन उपभोक्ता समितिमार्फत निर्माण भएको जानकारी दिनुभयो । उहाँले भवनमा सूचना केन्द्र, संग्राहलय र हल रहने पनि बताउनुभयो ।

साख्वाःको इतिहास भक्तपुर र काठमाडौंसँग जोडिएको स्मरण गराउँदै उहाँले काठमाडौं महानगरपालिकाको नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गतको आर्थिक सहयोगमा शंखधर पार्क निर्माण भइरहेको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले साख्वाःको सम्मानमा नगरपालिकाले गरेको सम्मानको तारिफ गर्नुभयो ।