भीमेश्वरको शिलामा पसिना


चिरञ्जीवी मास्के, दोलखा

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा मंगलबार दिउँसो झन्डै साढे दुई घण्टा पसिना आएको छ । शिलामा पसिना आउँदा देशमा कुनै शुभ या अशुभ प्रभाव पर्न सक्ने जनविश्वास रहँदै आएको छ । विश्वमा कोरोना संक्रमण हुनुअघि गत २०७६ फागुन ८ गते बिहीबार पनि भीमेश्वरको शिलामा दुई घण्टाभन्दा बढी समय पसिना आएको थियो ।

मंगलबार दिउँसो एक बजेर ५३ मिनेट जाँदा भीमेश्वरको शिलामा पसिना आउन शुरु गरेको थियो । पहिलो पटक २ः५५ बजेसम्म शिलामा पसिना आएर केही समय रोकिएको र पुनः केही समयपछि पसिना आउन शुरु भई दिउँसो ३ः ५३ सम्म पसिना आएको भीमेश्वर गुठी तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताउनुभयो । शिलामा पसिना आउँदा गाढा कालो रङ्गको शिला फुस्रो हुने र मसिनो दाना दाना गरी पसिना आउन शुरु गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

भीमेश्वरको शिलामा दाँयापट्टिबाट पसिना आउँदा राष्ट्रप्रमुख, बाँयापट्टिबाट पसिना आउँदा जनता र सबैतिरबाट आउँदा देशमा राम्रो या नराम्रो प्रभाव पर्ने जनविश्वास रहँदै आएको छ । मंगलबार शिलाको सबैतिरबाट पसिना आएको अध्यक्ष श्रेष्ठले बताए ।

कोरोना संक्रमणका कारण बाहिरी पूजा बन्द रहे पनि नित्य पूजा दैनिक पाँचपटक हँुदै आएको भीमेश्वर नगरपालिका वडा नम्बर २ दोलखाका वडाध्यक्ष विराज श्रेष्ठले बताए । मंगलबार २ बजे हुने राज पूजाका लागि भीमेश्वरको शिला पुछ्ने क्रममा टहलवा काशिनारायण श्रेष्ठले पहिलोपटक शिलामा पसिना आएको देखेका थिए ।

उनले गुठियार, मन्दिरका पुजारीलगायतलाई खबर गरेपछि मन्दिर परिसरमा ठूलो संख्यामा स्थानीयको भीड लागेको थियो । भीमेश्वरको पूजा बिहान ५ बजेअघि आरम्भ, ९ बजे रुद्री, मध्याह्न १२ बजे छक्काल (मध्याह्न), दिउँसो २ बजे राजपूजा र साँझ ६ बजे सन्ध्या आरती पूजा गरिन्छ ।

कुनै अनिष्ट नहोस् भन्दै मन्दिर परिसरमा ठूलो आवाजका साथ घण्टा तथा नगर बजाएर धूपदीपसहित प्रार्थना गरिएको थियो । मन्दिरका गुठियारहरुले भीमेश्वरको सिलामा आएको पसिना कपासले पुछेका थिए । मन्दिरका पुजारी र गुठियारहरुले शिलालाई चमरले हम्किए, डमरु बजाए, बाजागाजा बजाए र भीमेश्वरलाई कष्ट नहोस् भन्ने कामना गरे । भीमेश्वरको शिलामा पसिना आएपछि दीक्षा प्राप्त गरेको व्यक्तिले विधिपूर्वक पूजाआजा गरी पसिना कपासले पुछ्नुपर्ने प्रचलन छ । विधिपूर्वक पूजा गरी पुछिएको कपास मन्दिरमा आएका भक्तजनहरुलाई बाँडिएको थियो ।