‘सरकार कुनै पनि हालतमा परिर्वतन हुँदैन’


हरिहर नेपाल, विराटनगर

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कुनै पनि हालतमा वर्तमान सरकार परिवर्तन नहुने बताउनु भएको छ । विराटनगरस्थित शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालयको एक कार्यक्रममा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले नेपाली जनताले पाँच वर्षसम्म सरकार चलाउने म्यान्डेड दिएकाले आफ्नो अवधि पूरा नभएसम्म सरकार परिवर्तन नहुने बताउनुभएको हो ।

‘जनताले पाँचवर्षे म्यान्डेड दिएका छन्’, मन्त्री श्रेष्ठले भन्नुभयो– ‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहने यो सरकारलाई संसारको कुनै पनि ताकतले पनि गिराउन सक्दैन । यो नेपाली जनताको माया र शक्तिमा अडिएको सरकार हो ।’ मुलुकको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि आफ्नो पार्टीलाई दुई तिहाइनजिकको जनताको समर्थन रहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार पूर्ण अवधिसम्म चल्ने उहाँले बताउनुभयो ।

यो सरकार नेपाली जनताको जनमतको शक्तिबाट बनेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यकालसहित पूरा पाँच वर्षे अवधि पूरा गरेर सरकारले इतिहास रच्ने दाबी पनि उहाँले गर्नुभयो । जनताले दिएको मतका आधारमा पूरा पाँच वर्षे सरकार चलाएर इतिहास रच्ने अभियानमा नेकपाका कुनै पनि नेता कार्यकर्ताले इतिहास बनाउने अभियानमा सहयोग गर्नेबाहेक बिथोल्ने काम गर्लान् भन्ने आफूहरुलाई नलागेको पनि उहाँले बताउनुभयो ।

नेपाल समाचारपत्रको एक प्रश्नमा उहाँले नेपालको ठूलो पार्टी नेपाल कम्युनिस्ट पार्टीभित्र केही असहमति हुनु स्वाभाविकै भएकाले अहिले देखिएको विवादलाई कुशल व्यवस्थापन गर्न पार्टी नेतृत्व सक्षम रहेको बताउनुभयो । ‘नेकपा पार्टी एउटा ठूलो घर जस्तो हो’, उहाँले भन्नुभयो– ‘ठूलो घरको ठूलै चाला हुन्छ ।’ ‘ठूलठूलो समुद्रमा आँधी आउँछ, छाल आउँछ यसलाई केके न भएको भन्ने नठान्नु होला’, श्रेष्ठले भन्नुभयो– ‘पानी अलिकति चलेकै हो समुद्र केही समयपछि शान्त हुन्छ । वेट एन्ड सि नेकपामा त्यस्तो खाले समस्या आउनेमा चिन्ता नगर्नुस् ।’

पार्टीमा सानातिना विवाद देखापरेको बताउँदै मन्त्री श्रेष्ठले यो विवाद केही दिनभित्रै समाधान हुने विश्वास व्यक्त गर्नुभयो । सिंहदरबारको घुम्ने कुर्सीमा बसेर मात्रै देशभरको सत्यतथ्य बुझ्न नसकिने भएकाले जिल्लामा भइरहेका परियोजनाहरुको स्थलगत अवलोकनका लागि आफू जिल्ला भ्रमणमा निस्किएको उहाँले बताउनुभयो ।

जिल्लागत तहमा भइरहेका विकास निर्माण र कर्मचारीहरुले गरेको कर्तव्य बोधबाट आफू उत्साहित रहेको पनि मन्त्री श्रेष्ठले बताउनुभयो । एक जनाले चारवटा जिल्लासम्म हेर्नुपर्ने बाध्यताको समाधान गर्न मन्त्रालय गम्भीर रहेको समेत उहाँले बताउनुभयो ।

सो अवसरमा शहरी विकास कार्यालय मोरङबाट सञ्चालित परियोजनाहरुको अवस्था र प्रगति विवरणका विषयमा मन्त्री श्रेष्ठले चासो राख्नुभएको थियो । झापाबाट मोरङ आउनुभएका मन्त्री श्रेष्ठ बुधबार सुनसरी जाने कार्यक्रम रहेको छ ।

उद्यान विकासमा सहयोग गर्ने आश्वासन

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सुखानी शहीद स्मृति उद्यानको विकासमा सरकारले सहयोग पु¥याउने आश्वासन दिनुभएको छ । निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको अनुगमनका लागि सोमबार झापा आउनुभएका मन्त्री श्रेष्ठले मङ्गलबार झापाको सुखानी शहीद स्मृति उद्यानका बारेमा जानकारी लिँदै यस्तो बताउनुभएको हो ।

मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि झापा विद्रोह र सुखानीका शहीदको बलिदानी सदैव स्मरणीय भएको बताउनुभयो । सो अवसरमा प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरेले उद्यानको गुरुयोजना मन्त्री श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा मन्त्री श्रेष्ठले भूमिगत कालमा आफूले राजनीति गरेको झापाको अवस्था बुझ्न र शहीदप्रति सम्मान गर्न आफू झापा आएको बताउनुभयो ।

मन्त्री श्रेष्ठसहितको मन्त्रालयस्तरको उच्च टोलीले सोमबार झापाका विभिन्न १० स्थानमा बनेका र बन्ने योजनाको अवलोकन गरेको थियो । स्थानीयदेखि राष्ट्रिय गौरवका योजनाको निर्माण कार्यको अवस्थाबारे जानकारी लिँदै कोरोना कहरले प्रभावित योजनालाई अब उच्च गतिमा तीव्रता दिने बताइएको छ ।

अवलोकन गर्दै मन्त्री श्रेष्ठले कोरोना कहरका कारण अब कुनै पनि भौतिक विकासका कार्यहरू नरोकिने र उच्च सतर्कता अपनाएर कामलाई निरन्तरता दिने बताउनुभयो ।