जिप दुर्घटनामा ५ को मृत्यु


बैतडी, (नेस)

बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना१ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका–१० बुड्डामा मंगलबार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी सुर्नया गाउँपालिका–४ का ७५ वर्षीय कलावती चन्द, पाटन नगरपालिका–५ का ७७ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका–५ बस्कोटका ७२ वर्षीय पार्वतीदेवी चन्द, पाटन नगरपालिका–५ का ७० वर्षीय पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका–२ का ५८ वर्षीय कृष्णलाल लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा परी ४ जना घाइते भएका र घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । तीव्र गतिमा रहेको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । जिप सडकबाट करिब सय मिटर तल खसेको छ ।

दुर्घटनामा परेर मृत्यु भएका सबै नागरिक भारतबाट पेन्सन बुझेर आउँदै गरेका बुझिएको छ । गएको चैतदेखि पेन्सन बुझ्न नपाउँदा पेन्सनधारीहरुका लागि सोमबारदेखि शुक्रबारसम्मका लागि झुलाघाट नाका खोलिएको छ ।

चालक गोपाल सिंह कार्कीको टाउकोमा चोट लागेर अवस्था गम्भीर रहेको र उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।