पाकिस्तानी सेनाको आक्रमण हुँदा भारतीय ११ जनाको मृत्यु


एजेन्सी ।

पाकिस्तानी सेनाको आक्रमणमा परेर भारतीय सेनासँगै बिएसएफका ५ जवान र ६ सर्वसाधारण गरी ११ जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान पाकिस्तानी सेनाले गरेको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । जम्मु कश्मिरको पुंछ, केरन र गुरेज क्षेत्रमा पाकिस्तानी सेनाले युद्धविराम भंग गरेको आरोप भारतीय पक्षले लगाएको छ ।

बारमुला क्षेत्रमा पाकिस्तानी सेनाको आक्रमणमा परेर बिएसएफका सब इन्स्पेक्टर राकेश डोभालको मृत्यु भएको छ । सो क्षेत्रमा अन्य २ जना जवानको मृत्यु भएको छ ।

अन्य ३ जवान र ८ भारतीय नागरिक गम्भीर घाइते भएका दैनिक भास्करले जनाएकाे छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

झडपमा पाकिस्तानी सेनाका ३ कमाण्डरसहित ११ जवानको मृत्यु भएको भारतीय सेनाको दाबी छ । यद्यपि, पाकिस्तानतर्फ कति क्षति भयो भन्ने विवरण आइसकेको छैन ।