कारबाहीको दायरामा ल्याउन आग्रह

प्रहरी प्रमुख तथा सरकारी वकिल कार्यालयका प्रमुखलाई निर्देशन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ७७ वटै जिल्लाका प्रहरी प्रमुख र सरकारी वकिल कार्यालयका प्रमुखहरुलाई बिहीबार निर्देशन सम्बोधन गर्नुभएको छ ।
महान्यायाधिवक्ता खरेलले महान्यायाधिवक्ताको कार्यालय सिंहदरबार र प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयस्थित कमान्ड सेन्टरबाट अनलाइनमार्फत निर्देशन सम्बोधन गर्नुभएको हो ।
उक्त अवसरमा महान्यायाधिवक्ता खरेलले पछिल्लो समयमा गम्भीर प्रकृतिका फौजदारी कसूरहरुमा पनि स्थानीयस्तरमा मेलमिलाप हुने र अपराधलाई लुकाउन लगाउनेजस्ता कार्यहरु भइरहेकोप्रति महान्यायाधिवक्ताको कार्यालयले गम्भीररुपमा लिई यस्ता गैरकानुनी कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन गरिएको आग्रहलाई स्थानीय तहसम्म सम्प्रेषण गरिएको जानकारी गराउनुभयो ।
यस्ता कार्यलाई कानुनी प्रक्रियामा ल्याई कानुन कार्यान्वयनको प्रभावकारिताको सन्देश दिनुपर्नेतर्फ क्रियाशील हुन र यस्ता विषयमा स्थानीय तहका पदाधिकारी एवं विद्यालय तथा सामुदायिक संस्थाका प्रतिनिधिसँग समेत सहकार्य गरी कानुनी व्यवस्थाको प्रचारप्रसार गर्न र समुदायलाई सचेत गराउनका लागि सम्बन्धित प्रहरी कार्यालय एवं सरकारी वकिल कार्यालयहरुले साझा प्रयास गर्न निर्देशन दिनुभयो ।
हालसम्म गरिएका भौतिक सुधार र मानव संशाधनको विकासले प्रहरी तथा सरकारी वकिलहरुको व्यावसायिकता अभिवृद्धि भई कार्य सम्पादनमा देखिनुपर्ने आवश्यकता रहेको र यसबाट नै महान्यायाधिवक्ताको कार्यालयले घोषणा गरेको अभियोजन सुधार वर्षले सार्थकता प्राप्त गर्नेमामा उहाँले विश्वास प्रकट गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अपराध अनुसन्धानको हालको तथ्यांकीय अवस्थासहित वस्तुस्थितिको विश्लेषण गर्दै प्रहरी र सरकारी वकीलहरुले आपसी समन्वय र सहकार्य गर्न दुवै निकाय क्रियाशील हुन जरुरी रहेको बताउनुभयो । न्यायका लागि आउने व्यक्तिसँग सभ्य व्यवहार गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘दुवै निकायको संयुक्त प्रयासबाट नै नागरिकहरुले न्याय पाउँछन् ।’
प्रमाणमुखी अनुसन्धानमा जोड दिँदै उहाँले भन्नुभयो– ‘प्रमाण संकलन गर्ने हो, सृजना गर्ने होइन, सबुत प्रमाण ग्राह्य हो होइन निर्धारण गरी ग्राह्य प्रमाण मात्र संकलन गर्ने दिशामा अनुसन्धान निर्देशित हुनुपर्छ ।’ अपराध अनुसन्धानलाई प्रभावकारी बनाउनका लागि आवश्यक सबै प्रकारका सहयोगका लागि प्रहरी प्रहरी प्रधान कार्यालयको सहयोग रहने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।
वरिष्ठतम नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । महान्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा नायब महान्यायाधिवक्ताहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सहन्यायाधिवक्ताहरु, प्रहरी नायब महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख, ७७ वटै जिल्लाका सरकारी वकिल कार्यालयका प्रमुखहरु र जिल्ला प्रहरी प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।