प्रधानमत्री ओलीले जबजको कुरा गरेर फेरी पछाडी फर्किन खोजेको हो कि भन्ने शंका उत्पन्न भएको छ: रायमाझी

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)स्थायी कमिटी सदस्य टोप बहादुर रायमाझीले स्थायी कमिटी सदस्यहरुले पार्टी एकता कायम राख्न नेतृत्वलाई दवाव दिईरहेको बताउनुभएको छ । पुर्व उप–प्रधानमन्त्री समेत रहेका रायमाझीले बिहीवार नेकपा सिन्धुलीका नेता कार्यकर्तासँगको भेटमा भन्नुभयो,‘हामीले सबै पक्षलाई संयम हुनका लागि र पार्टी एकताबद्ध भएर जानका लागि आग्रह गरिरहेका छौं ।

आफ्नो तर्फबाट एकताको पक्षमा काफि मात्रमा मेहनत गरिरहेका छौं । नेतृत्वबिचको विवाद चर्किन नदिन, मत्थर बनाउन सुझाव दिने, सल्लाह दिने, अलि अलि दवाव दिने कामहरु पनि भएको छ ।’ उहाँले भन्नुभयो । स्थायी कमिटीले सुझाव दिए पनि निर्णायक भुमिका दुई अध्यक्ष कै हुने भएकाले पार्टी एकताका लागि दुवै अध्यक्षले नै बढी मेहनत गर्नुपर्ने उहाँले बताउनुभयो ।

‘पार्टी एकताका लागि कि त प्रधानमन्त्री केपी शर्मा ओलीले अलि बढी मेहनत गर्नुपर्छ । कि त कार्यकारी अध्यक्ष प्रचण्ड, माधव कुमार नेपाल लगाएत सचिवालय सदस्यहरुले अलि बढी मेहनत गर्नुपर्छ । हामीले त सुझाव दिने सल्लाह दिने मात्रै हो । ’ उहाँले भन्नुभयो । बादविवाद बढ्दै जादा पार्टी भित्रै लडाई सुरु हुनसक्ने भन्दै पार्टीमासँगै बसेर नेतृत्वले आफ्नो भुमिका निर्वाह गरेमा सबै समस्या हल हुदै जाने उहाँको भनाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकटका नेताहरुलाई जनताको बहुदलीय जनवाद (जबज) को औचित्यबारे बताउदै हिड्न थालेकाले प्रधानमत्री ओली फेरि एकतालाई बिर्सेर पुरानै बाटो हिड्न थालेको हो कि भन्ने भान हुन थालेको उहाँले बताउनुभयो ।‘प्रधानमन्त्री ओली जबज तिर फर्किन खोजे जस्तो, नेता कार्यकर्तालाई अव जबज हो भन्ने खालको कुरा गर्दै हिड्नु भएको छ ।

उहाँ फेरी पछाडी फर्किन खोजेको हो की ? पार्टी एकताको सहमतीलाई कार्यान्वयन गर्न नखोजेको होकी जस्तो संका उत्पन्न भएको छ । यस्ता क्रियाकलापले पार्टीमा समस्या ल्याउछ ।’ उहाँले भन्नुभयाे । उहाँले यदि नेकपा फुटेमा नयाँ बन्ने दुवै पार्टीलाई जनताले विश्वास नगर्ने बताउनुभयो ।