ललितपुरका सबै वडामा कोभिड सहजीकरण समूह

0
Shares

ललितपुर, (नेस)
ललितपुर महानगरपालिकाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रत्येक वडामा कोभिड सहजीकरण समूह गठन गर्ने भएको छ । महानगरमा २९ वटा वडा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको बैठकपछि ललितपुर महानगरले कोभिड सहजीकरण समूह गठन गर्न लागेको हो । यो समूहले वडाको टोलटोलमा पुगेर घरैपिच्छे कोरोना संक्रमित भए नभएको अनुगमन गर्नेछ ।
ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले समूहको गठन राम्रो अवधारणा भएको बताउँदै सहजीकरण समूह गठन गर्न पत्राचार गर्ने बताउनुभयो । कोरोना संक्रमणसँग मिल्दाजुल्दा लक्षण देखिएका र नदेखिएकाहरु स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाई घरमै बसिरहेका छन्, जसले गर्दा कोरोना संक्रमणको फैलावट व्यापक भएको विज्ञहरुले बताएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ, सीआईसीटी संयोजक महेन्द्र श्रेष्ठले कोरोना नियन्त्रणका लागि समूह गठन प्रभावकारी हुने बताउनुभयो । उक्त समूहले टोलटोलमा पुगेर घरैपिच्छे बिरामी भए नभएको, कस्तो खालका बिरामी भएको एकिन गर्नेछ ।
कोरोना नियन्त्रणका लागि सरकारले सञ्चालन गरेका गतिविधि र नियम मात्रै पर्याप्त नहुने बताउँदै उहाँले भन्नुभयो– ‘यो भाइरस संक्रमण नियन्त्रणका लागि व्यक्ति व्यक्तिको सतर्कता आवश्यक छ, त्यसो भए संक्रमण नियन्त्रण गर्न सकिन्छ ।’ टोलका मान्छेहरु जाग्नुपर्ने उहाँको धारणा थियो ।
कोरोना संक्रमणको संख्या बढे पनि मृत्युदर कम भएको उल्लेख गर्दै उहाँले यो समूह प्रभावकारी हुने स्पष्ट पार्नुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. अमृत पोखरेलले कोभिड सहजीकरण समूहको अवधारणाबारे बताउँदै एक समूहले धेरैमा ५० घरको निगरानी गर्नुपर्ने बताउनुभयो । उक्त समूहमा महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक परिचालक, शिक्षक, स्वास्थ्यकर्मी, स्थानीय क्लब, आमासमूह तथा गुठीका सदस्यहरु प्राथमिकताका साथ समावेश गर्नुपर्नेछ ।
डा. पोखरेलका अनुसार उक्त समूहले स्व एकान्तवासमा बसे नबसेको अनुगमन गर्ने, उनीहरुको पहिचान गरी नगरपालिकासँग समन्वय गर्नेलगायतका विषयमा काम गर्नुपर्नेछ ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका कोभिड फोकल पर्सन देवी थापा गुरुङले कोरोना संक्रमण नियन्त्रणका लागि ललितपुर महानगरपालिकाले गरेको गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । बैठकमा ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थिति थियो ।
त्यसै गरी महानगरको विधेयक समितिका संयोजक श्रीगोपाल महर्जन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवाले, सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक गणेश केसी, पूर्वाधार विकास समितिका संयोजक चन्द्रलाल महर्जन, आर्थिक समितिका संयोजक रवीन्द्र महर्जन, सामाजिक विकास समितिका संयोजक दिनेश कार्की, महानगरका प्रवक्ता राजु महर्जनको उपस्थिति रहेको थियो ।