‘काठमाडौं महानगरपालिकाले कसैलाई भोकै पर्न दिँदैन’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं गरिखानेहरुको सपनाको शहर भएको भएको बताउनुभएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरुले उठाएको जिज्ञाशाको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

‘सडकमा कसैले पनि मागी खानुपर्ने अवस्था आयो भने उनीहरु सबैलाई व्यवस्थापन गर्ने दायित्व काठमाडौं महानगरपालिकाको हो’, शाक्यले भन्नुभयो– ‘हामीले त्यही जिम्मेवारी निर्वाह गर्ने कोसिस गरिरहेका छौं । यस्तो अवस्थामा एकले अर्कालाई दोषारोपण गरेर भन्दा पनि सबै मिलेर अघि बढ्नुपर्छ । यो सबैको दायित्व पनि हो ।’

शाक्यले खुलामञ्चमा निःशुल्क खाना खुवाएको विषय सबैको सरोकारभित्र परेको भन्दै त्यसलाई व्यवस्थापन गरेरै छाड्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘मेरो जानकारीअनुसार करीब आधा दर्जन संस्थाले त्यहाँ निःशुल्क खाना खुवाइरहेका छन्’, उहाँले भन्नुभयो– ‘सबैले एकै ठाउँमा खाना खुवाउन आवश्यक छैन । हामीले निःशुल्क भोजनको व्यवस्था गरिरहेका संघ–संस्था र व्यक्तिलाई उहाँहरु र खाना खानेलाई पनि पायक पर्ने गरी फरक–फरक ठाउँमा बन्द स्थानको छनोट गर्नुहोस् भनेका छौं । हामी ती ठाउँको भाडा तिर्न तयार छौं । त्यति मात्र होइन, खाना खुवाउन आर्थिक अभाव भयो भने हामी खाद्यान्नको समेत व्यवस्थापन गर्न तयार छौं । तर, यस्तो कोरोना कहरका बेला स्वास्थ्य मापदण्डको समेत ख्याल नगरी खुला ठाउँमा खाना खुवाउनु हुन्न भन्ने हाम्रो चाहना हो ।’

उहाँले खाना खुवाउनकै लागि विभिन्न विदेशी संस्था र स्वदेशबाट समेत आर्थिक सहयोग उठाउनुपर्ने र चन्दा माग्नुपर्ने आवश्यकता नरहेको भन्दै आवश्यक सहयोग गर्न महानगरपालिका तयार रहेको पनि जानकारी गराउनुभयो ।

उहाँले अहिले पनि श्रम गरी खानेहरुका लागि कुनै समस्या नभएको भन्दै श्रम गरी खानेहरुलाई प्रोत्साहन गर्न सबैसँग आग्रह गर्नुभयो । ‘काम नगरी खाने प्रवृत्तिको अन्त्य र श्रम गरी खानेलाई प्रोत्साहन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । कोभिडका कारण रोजगारी गुमाएकालाई श्रममा आधारित रोजगारीका अवसर दिन महानगरपालिका तयार छ’, उहाँले भन्नुभयो– ‘हामी सबैसँग सहकार्य गरी अघि बढ्दै मागी खानुपर्ने बाध्यतामा रहेका महानगरबासीलाई व्यवस्थापन गर्न तयार छौं ।’
शाक्यले केही माननीयहरुले खुलामञ्चमा पुगेर गरेको आर्थिक सहयोगप्रति संकेत गर्दै भन्नुभयो– ‘गर्न नसक्नेलाई हामी हेर्छौं । त्यो राज्यको दायित्वभित्रै पर्छ । तर, गरिखान सक्नेलाई पनि खुलामञ्चमा पुगेर केही आर्थिक सहयोग गरी महानगरपालिकालाई असहयोग गर्ने गरी गरेको प्रचारले समस्या समाधान हुँदैन । सबै मिलौं समस्या समाधानको उपायको खोजी गरौं ।’

उहाँले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको समन्वयमा पाँच हजार बेडको आइसोलेन बेड निर्माण गर्ने भनेको स्मरण गराउँदै कतिपय अवस्थमा महानगरपालिकाले नै निर्माण गर्ने भनी समाचार आएको र त्यसमा केही भ्रम पर्न गएको बताउनुभयो । उहाँले पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको र त्यसमा पनि काठमाडौं महानगरपालिकामा अझ संक्रमण दर बढिरहेको भन्दै स्थानीय, प्रदेश र केन्द्र सरकारको समन्वयमा व्यवस्थापन गर्नुको अर्को विकल्प नरहेको प्रस्ट पार्नुभयो ।

अस्पताल पुग्नेबित्तिकै आईसीयू नै चाहिन्छ भन्ने माग सरकारले पूरा गर्न नसक्ने भन्दै त्यस बारेमा जनतालाई बुझाउन नसकेकाले केही समस्या भएको उहाँको भनाइ थियो ।

‘अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने धेरै नागरिक होम आइसोलेसनमा रहेको लगायतका कारणले पनि हुनसक्छ भेन्टिलेटर र आईसीयूका बेडहरुको अभाव भए पनि आइसोलेसन बेडको त्यति अभाव देखिएको छैन’, उहाँले भन्नुभयो– ‘आगामी दिनमा थप भयावह अवस्था भयो भने व्यवस्थापनमा कठिन हुनसक्छ । यसका लागि सबैको समन्वय आवश्यक छ ।’

उहाँले काठमाडौं महानगरपालिकासँग आर्थिक अभाव नरहेको भन्दै समन्वय भयो भने जटिल समस्यालाई पनि समाधान गर्न तयार रहेको जानकारी पनि दिनुभयो ।

उपत्यका नगरपालिका फोरमका अध्यक्षसमेत रहनुभएका शाक्यले कोभिडका बेला उपत्यकाका १८ वटै नगरपालिकाकाले एक्लाएक्लै होइन, समन्वयमा अघि बढ्नुपर्छ भनेर पटक–पटक योजना बनाई अघि बढेको पनि स्मरण गराउनुभयो । उहाँले केही सञ्चारमाध्ययमले शीर्षक तोडमोड गर्दा आम नागरिकमा भ्रम पैदा हुने गरेको भन्दै त्यस्ता विषयमा सजग हुन र नागरिकलाई सत्यतथ्य सूचना प्रवह गर्न आग्रह गर्नुभयो । ‘सञ्चार माध्ययम सबैभन्दा बढी जिम्मेवार हुनुपर्छ’, उहाँले भन्नुभयो– ‘बेलाबखत केही सञ्चारमाध्ययमले शीर्षक तोडमोड गर्दा नागरिकमा भ्रम पैदा हुने गरेको छ । यस्तो विषयमा ख्याल गर्नुहोला ।’

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफ्नो नगरपालिकाभित्र कुनै पनि संघ–संस्थाले समन्वय नगरी खुला स्थानमा निःशुल्क खाना खुवाउनेलगायतका गतिविधि गर्न नपाउने व्यवस्था गरेको भन्दै त्यहाँ समस्या नरहेको बताउनुभयो । उहाँले कोभिडका बेला आफ्नो नगरपालिकाले गरेका गतिविधिबारे जानकारी दिनुभएको थियो ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले अहिलेसम्म स्थानीय तहले गरेका काम सकारात्मक भए पनि थप समन्वय गरेर अघि बढ्दा अझ राम्रो हुने बताउनुभयो । सांसद भीमसेनदास प्रधानले समन्वयको अभावमा समस्या हुने गरेको भन्दै समन्वय गरेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले खुलामञ्चमा निःशुल्क खाना खुवाउनेहरुलाई व्यवस्थापन गर्ने नाममा त्यत्तिकै छाड्न नमिल्ने भन्दै समन्वय गरेर स्थान तोकेरै खाना खुवाउने व्यवस्था गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी सांसदहरु विन्दा पाण्डे, अभिषेक प्रताप शाह, देवेन्द्र पौडेल, माया ज्ञवाली, सोमप्रसाद पाण्डे, एलपी साँवा लिम्बू, प्रकाश रसाइली, श्रम मन्त्रालयका सहसचिव, वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहाललगायतले पनि कोभिड–१९ महामारीको मारमा परेका श्रमिकको व्यवस्थापनका लागि मन्त्रालय र स्थानीय तहहरुले गरेका व्यवस्था, गर्नुपर्ने प्रयासलगायतका बारेमा मेयरहरुलाई सुझाव दिनुभएको थियो ।