काठमाडौं, (नेस)
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सत्ता संघर्ष शुरु भइरहेकै बेला सो पार्टीको अनुशासन आयोगले पार्टीको बैठक तत्काल बोलाएर समस्याको समाधान गर्न आग्रह गरेको छ ।
आयोगले पार्टीको भूमिका समाज रुपान्तरण गर्न लाग्नुपर्नेमा हिजोआज पार्टी र कार्यकर्तालाई गालीगलौज, निन्दा भत्र्सना र पार्टी विभाजनजस्ता सुन्नै नसकिने कुरा सार्वजनिक हुनु लज्जाको विषय भएको आयोगले जनाएको छ ।
आयोगले विगतमा पार्टीमा उत्पन्न ठूलाठूला विवादहरु पनि अन्तर पार्टी संघर्षका माध्यमबाट समस्या समाधान भएका धेरै उदाहरण रहेकाले छलफलबाटै समस्याको समाधान खोज्न आग्रह गरेको छ ।
आयोगका अध्यक्ष अमृतकुमार बोहोराले विधि र पद्धति पार्टीका प्राण भएकाले पद्धति र प्रणाली रहेन भने पार्टीको भविष्यसमेत अन्धकार हुने भएकाले पार्टीको बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा ल्याउनेतर्फ लाग्न र आत्मकेन्द्रित चिन्तनलाई त्याग्न नेताहरुलाई आग्रह गर्नुभएको छ ।
‘माक्र्सवादीहरु हरेक कुरामा खुल्ला–खुलस्त हुन्छन् । भित्र एउटा कुरा र बाहिर अर्काे कुरा गर्दैनन् । जालझेल र षड्यन्त्रलाई मनैदेखि घृणा गर्छन् । पार्टी र जनताका काममा कुनै गल्ती कमजोरी भए इमानदारीतापूर्वक आत्मालोचना गर्छन् र सच्याएर अघि बढ्छन् । एउटा कम्युनिस्टले अवलम्बन गर्नुपर्ने कार्यशैली भनेको यही नै हो । तर व्यवहारमा नेकपाभित्र यी कामहरुमा किन पछि परेको छ? सबैको मनमा प्रश्न उठिरहेको छ ।’ –बोहोराले जारी गर्नु भएको वक्तव्यमा उल्लेख गरिएको छ ।
वक्तव्यमा पार्टीका निर्णयहरु आवश्यकताले कार्यान्वयनका लागि गरिन्छ, दराजमा सजाउनका लागि होइन । पार्टी एकताका समयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीका धेरै निर्णयहरु आजसम्म कार्यान्वयन नभई निस्क्रिय बसेको उल्लेख गर्दै पार्टीका सम्पूर्ण निकाय अनुशासन आयोग, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र जेष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभागलगायत एकताका बाँकी कामहरु हुन नसकेकाले तत्काल ती काम गर्न पनि आग्रह गरिएको छ ।
पार्टी नेतृत्वको सोच सधंै फराकिलो हुनुपर्दछ । हृदयमा विशालता छैन भने त्यो कम्युनिस्ट हुँनै सक्तैन । संकीर्णता, आग्रह–पूर्वाग्रह, गुटबन्दी र रिस रागले पार्टी चल्न नसक्ने वक्तव्यमा उल्लेख गरिएको छ ।
उत्तेजना, आवेग र गालीगलौजले समस्याको हल नहुने भन्दै पार्टीमा देखिएको विवादले सरल होइन झन् जटिलतातर्फ लगेकाले तनावलाई सिथिल नगरी कि वार कि पार भन्ने भनाइले पार्टी विनाशको बाटोतर्फ जाने भएकाले त्यसतर्फ ध्यान दिन पनि आग्रह गरिएको छ ।
पार्टी एकता आजको आवश्यकता भएकाले पार्टी एकताको विकल्पै छैन । समृद्ध समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पूरा गर्न यो एकता जरुरी थियो र भविष्यसम्म छ । फुट र विभाजन प्रतिगामी कुरा भएकाले विगतमा हामीले पार्टी फुटको दुःखद कुरा बेहोरिसकेका छौं । अब यस्ता गल्तीबाट शिक्षा लिनुपर्ने बोहोराले बताउनुभयो ।
प्रतिक्रिया