सुदूरपश्चिममा आईसीयू र भेन्टिलेटरको अभाव

0
Shares

राम धामी, डडेल्धुरा
सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहतको एक मात्र डडेल्धुरा अस्पतालमा कोरोना संक्रमतिका लागि आईसीयू र भेन्टिलेटरको अभाव भएको छ ।

सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरको व्यवस्था गर्न तीन करोड बजेट निकासा भए पनि अझै सेवा सुचारु हुन सकेको छैन । अस्थायी राजधानी धनगढीस्थित सेती प्रादेशिक अस्पताल हाल कोरोना सङ्क्रमित बिरामीहरुले भरिभराउ भएको छ । प्रदेशमा गम्भीर प्रकृतिका सङ्क्रमितको उपचार हुने एक मात्र अस्पतालमा बेड खाली छैन । गम्भीर प्रकृतिका बिरामी थपिएको अवस्थामा उनीहरूलाई कहाँ राखेर उपचार गर्ने भन्ने अन्योल कायमै छ ।

सेती प्रादेशिक अस्पतालले व्यवस्थापन गरिरहेको ५० बेडको अस्थायी अस्पतालमा ४८ जना कोरोना संक्रमितको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले ५० बेड उपलब्ध रहेकोमा ३२ जनाको जनरल वार्डमा र १६ जना गम्भीर किसिमका कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताउनुभयो ।

अस्पतालमा भर्ना भएकामध्ये सबैभन्दा धेरै कैलालीका ३७ जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् भने कञ्चनपुरका ४, डडेल्धुरा र अछामका २÷२, दार्चुला, बझाङ र बैतडीका १÷१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

‘कोरोना अस्पतालको जनरल वार्ड मात्र होइन, अस्पतालको सघन उपचार कक्षको आईसीयू पनि भरिएको छ । भेन्टिलेटर पनि चारवटा मात्र खाली छ।’ –सूचना अधिकारी श्रेष्ठले भन्नुभयो । १० बेडको आईसीयू सेटअप रहेको अस्पतालले जनरल वार्डसमेत अक्सिजनको उपलब्धता हुने गरी वैकल्पिक व्यवस्था गर्दै २० बेडको बनाएको श्रेष्ठले बताउनुभयो ।

तर अस्पतालमा भर्ना भएका १६ जना कोरोना संक्रमितलाई आईसीयूमा राखेपछि थप गम्भीर बिरामी फेला परे उपचारमा समस्या हुने देखिएको हो । कोभिड अस्पताल संक्रमितले भरिभराउ भएपछि सेती प्रादेशिक अस्पतालकै पुरानो भवनमै भए पनि व्यवस्थापन गर्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई कोरोना अस्पताल घोषणा गरे पनि उपकरण विस्तारमा खासै चासो दिएको छैन । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले सेती र महाकाली अस्पतालमा गम्भीर संक्रमितको उपचारका लागि सघन उपचार कक्ष आईसीयू र भेन्टिलेटर सेवाको व्यवस्था रहेको बताउँदै टीकापुर अस्पतालमा पनि उपकरण पठाइसकेको बताउनुभयो ।

उहाँले अन्य जिल्ला अस्पतालमा पनि उपकरण र बेड विस्तारको कार्य भइरहेको जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ९ सय २३ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ५७ रहेको छ ।

प्रदेशभर हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३१ रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालले भने चाँडै सघन उपचार कक्ष र भेन्टिलेटर जडान गर्ने गरी काम भइरहेको जनाएको छ ।