दुर्घटना न्यूनीकरण गर्न लेजर गन

0
Shares

पाेखरा ।

अधिकांश दुर्घटना तीव्र गतिकै कारण हुने भएकाले प्रदेशमा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनीकरण गर्न लेजरगन प्रविधि ल्याएको छ । यो प्रविधिले गतिको मात्र कति हुनुपर्ने हो र कतिको गतिमा सवारी चलाएको छ भन्ने मापन गर्छ ।

उक्त प्रविधि बढी दुर्घटना हुने क्षेत्रमा प्रयोग गरिने प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रभुप्रसाद ढकालले बताउनुभयो । पोखराको पृथ्वीचोकदेखि विजयपुरसम्म पर्ने पृथ्वी राजमार्गअन्तर्गतको सडकमा वर्षेनी साना–ठूला गरी सय बढी सवारी दुर्घटना हुने उहाँको कथन छ । यति मात्र होइन उक्त क्षेत्रमा हुने दुर्घटनामा वर्षेनी मानिसको ज्यानसमेत जाने गरेको छ ।

‘हामीले प्राविधिक दक्ष जनशक्तिसहित यो प्रविधि ल्याएका छौं । यसले निरन्तरता पाउनेछ ।’ –ढकालले भन्नुभयो । पहिलो चरणमा सचेतना गर्ने गरी गति मापन गर्ने र दोस्रो चरणबाट भने कारबाहीको दायरामा ल्याउने उहाँको भनाइ छ । अहिले बजार क्षेत्रमध्ये बढी दुर्घटना हुने औद्योगिक क्षेत्र र प्रस्याङ क्षेत्रमा यसको प्रयोग गर्ने उहाँले बताउनुभयो ।

२०७५ सालमा मात्र औद्योगिक क्षेत्र आसपास अर्थात् पृथ्वीचोकदेखि विजयपुरसम्म ९ वटा दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांक छ । सो दुर्घटनामा ५ जनाले ज्यान गुमाएका थिए । यस्तै अघिल्लो वर्ष ०७६ सालमा ७ वटा ठूला दुर्घटना भए जसमा ४ जनाले ज्यान गुमाए । चालू आर्थिक वर्षमा भने ३ वटा ठूला दुर्घटना भइसकेका छन् यद्यपि ज्यान भने कसैले पनि गुमाउन परेको छैन ।

फराकिलो सडक भए पनि तीव्र गति र सडक स्तरीय नहुनु नै दुर्घटनाको मुख्य कारण हो । प्रदेशभर ०७५ सालमा ४ सय ७० ठूला दुर्घटना भए जसमा २ सय ५८ जनाले ज्यान गुमाए । यस्तै ०७७ सालमा ४ सय ३० दुर्घटना भए जसमा २ सय २३ जनाले ज्यान गुमाउनुप¥यो । यस्तै चालू वर्षमा भने हालसम्म १ सय २ दुर्घटना हुँदा ५३ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रदेशमा हाल एक थानमात्र रेजर गन रहेको छ । करिब १२ लाख बढी पर्ने उक्त गतिमापन गन प्रदेशभर लगिने ढकालको भनाइ छ । यसबारे ट्राफिक प्रधान कार्यालय तथा प्रदेश सरकारसँग समेत माग गरेको उहाँले बताउनुभयो ।