सुगाले आगो लाग्दै गरेको घरबाट मालिकलाई बचायो


सिड्नी, (एजेन्सी)
अस्ट्रेलियाका एकजना पुरुषले राति अचानक आफ्नो घरमा आगलागी भएको बेला पाल्तु सुगाले निद्राबाट बिउँझाइ दिएकाले आफ्नो ज्यान जोगिएको बताएका छन्। बुधबार एन्तोन गएन मस्त निदाएका बेला क्विन्सल्यान्डको ब्रिस्वेनस्थित उनको दुई तले घरमा आगो लागेको थियो। यसबारे उनले एबीसी टेलिभिजनलाई भनेका छन्– ‘मैले केही बजारिएको आवाज जस्तो सुनें। मेरो पाल्तु सुगा एरिक चिच्याउन थालेपछि मेरो निद्रा खुल्यो। वरपर धुवाँ फैलिएको थियो। मैले एसिकलाई बोकें। ढोका खोलेर घरको पछिल्लो भागमा हेरें। त्यहाँबाट आगोको लप्का निस्किएको थियो। त्यसपछि म तल सुरक्षित स्थानतर्फ भागें। स्थानीय समयानुसार बिहान करिब १ बजे अग्नि नियन्त्रण टोली आइपुग्दासम्म घर पूर्णरूपमा जलिसकेको थियो।’
चारजना अग्नि नियन्त्रकलाई कंगारु प्वाइन्टमा रहेको सो घरको आगो पूर्णरूपमा नियन्त्रणमा लिन एक घण्टाभन्दा बढी समय लागेको थियो। घरमा एक्लै बस्दै आएका तथा सुगा र एउटा झोला बोकेर त्यहाँबाट भागेका गुएनलाई कुनै चोटपटक नलागेको बताइएको छ।