बालविवाह गराइएकी किशोरीको उद्धार जबर्जस्ती


इस्लामाबाद, (एजेन्सी)
पाकिस्तानमा प्रहरीले जबर्जस्ती विवाह गराइएकी एकजना १३ वर्षीया किशोरीलाई जोगाएको छ। अपहरण गरी ती इसाई किशोरीलाई धर्म परिवर्तन गराइ एक मुस्लिम पुरुषसँग विवाह गराइएको थियो। नाम नखुलाइएकी ती किशोरीका अभिभावकले अली अझार नामक एक ४४ वर्षीय पुरुषले छोरीलाई अपहरण गरेको उजुरी गरेपछि झन्डै एक महिनादेखि प्रहरीले उनको खोजी गर्दै आएको थियो।
किशोरी स्वयंले आफू १८ वर्ष पुगेको र आफूले स्वेच्छाले विवाह गरेको अभिव्यक्ति दिएकी यसअघिसम्म यस विषयमा कारबाही बढाउन असफल भएको बताइएको छ। तर, सामाजिक अभियन्ता, दबाब समूह र जनआक्रोशका कारण प्रहरीले कारबाही अघि बढाएको बुझिएको छ।
पाकिस्तानका क्याथोलिक चर्चका नेता र मानव अधिकारवादी समूहले बालविवाह गराइ ती किशोरीलाई जबर्जस्ती झुठो बयान दिन बाध्य पारेको भन्दै अदालतको निर्णयमाथि पुनर्विचार गर्न आह्वान गरेका थिए। पाकिस्तानको कराँची शहरमा यस विषयलाई लिएर सडकमा पनि विरोध प्रदर्शन भएको छ। सोमबार सिन्ध उच्च अदालतले किशोरीलाई खोज्न प्रहरीलाई आदेश दिएको छ।