पहिल्यै पक्राउ नपरेकोमा कुख्यात हत्यारा आफै छक्क


सोल, (एजेन्सी)

दक्षिण कोरियाकै सबैभन्दा खतरनाक र कुख्यात शृंखलाबद्ध हत्यारामध्ये एकले सुवोन शहरको अदालतमा बयान दिने क्रममा आफू पहिल्यै किन पक्राउ नपरेको भन्दै ठूलो आश्चर्य व्यक्त गरेका छन्। ५७ वर्षीय लि चुन जाय आफैले गरेको हत्याकाण्डमा विनासित्ती फसेका एक व्यक्तिको पुनः शुरू गरिएको मुद्दाको सुनवाइको क्रममा सोमबार अदालतमा उपस्थित भएका थिए।

ती निर्दोष व्यक्तिले सन् १९८८ मा एक १३ वर्षीया बालिकाको बलात्कार पश्चात् हत्या गरेको आरोपमा २० वर्ष लामो करावास सजाय भोग्दै आएका थिए।

ती युन सुंग एयो नामक व्यक्तिलाई सन् २००८ मै कारागार मुक्त गरिए पनि उनले आफूविरुद्ध लगाइएको अभियोग रद्द गराउन अपिल गरेका थिए। उनले प्रहरीले आफूलाई दबाब दिएर बालिकाको हत्या अभियोग स्वीकार्न लगाएको अभिव्यक्ति दिएको बताएका छन्।

लिले अदालतमा सन् १९८६ देखि १९९१ बीच ह्वासेओंगमा बालिका र महिला गरी आफूले १४ जनाको हत्या गरेको स्वीकारेका छन्। योन्हाप न्युजका अनुसार उनले बलात्कारपछि घाँटी थिचेर हत्या गर्ने गर्थे। उनले घाँटी थिच्न प्रायशः पीडितकै अन्डरवेयर प्रयोग गर्ने गरेको बताइएको छ। उनको शिकारमा ७१ वर्षीया वृद्धासमेत रहेकी छन्।