मत गणनाका क्रममा ह्वाइट हाउस बाहिर भिडन्त


वासिंगटन (एजेन्सी)
अमेरिकामा राष्ट्रपति चुनावका मतगणना भइरहँदा राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर ‘ब्ल्याक लाइभ्स म्याटर’ प्रदर्शनकारी र डोनाल्ड ट्रम्प समर्थकबीच भिडन्त भएको छ । चुनावी हिंसाको आशंका बढेपछि ह्वाइट हाउस बाहिर ठुलो संख्यामा ससस्त्र सैनिक तथा प्रहरी तैनाथ गरिएको छ ।
सुरक्षाकर्मीले प्रदर्शनकारीलाई रोक्न कडा प्रतिरोधको सामना गर्नु परेको बताइएको छ । यसबीच बीएलएम प्रदर्शनकारीहरुले यदि ट्रम्प पुन राष्ट्रपति निर्वाचित भएमा कयौं हप्ता सम्म प्रदर्शन जारी राख्ने चेतावनी दिएको छ ।
अहिलेसम्मको चुनावी नतिजाले दुबै प्रतिस्पर्धी बीच कडा टक्करको अवस्था देखाएको छ । मतगणनाको रुझानको आंकलनले ट्रम्प पुन जित्ने सम्भावना बढेको छ ।
ट्र्रम्प समर्थक र विरोधीहरुको यो झडपले प्रहरी कठिनाइमा परेको बताइएको छ । झडपको भिडियोमा ब्ल्याक लाइभ्स म्याटरका समर्थक र ट्रम्प समर्थकबीच हात हालाहाल भएको देखिन्थ्यो । ह्वाइट हाउस बाहिर हजारौं संख्यामा प्रदशनकारी र ट्रम्प समर्थक जम्मा भएका छन् । ट्रम्प समर्थकहरुले ‘अल लाइभ्स म्याटर , ह्वाइट लाइभ्स म्याटर’ नारावाजी शुरु गरेपछि बीएलएमका प्रदर्शनकारी भडकेको बताइएको छ ।
बीएलएमका प्रदर्शकारीहरुले ट्रम्प पुन चुनिएमा उनीहरुले ह्वाइट हाउस वरपर आन्तरिक संघर्ष थाल्ने धम्की दिइरहेका छन् । प्रहरीले अहिलेसम्म तीन प्रदर्शनकारीलाई गिरफ्तार गरिसकेको छ । एक प्रदर्शनकारीले गाडी नहटाएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए । अन्य दुई प्रदर्शकारीलाई प्रहरीसँग झडप भएपछि गिरफ्तार गरिएको हो ।
सुरक्षाकर्मीले बीएलएम प्रदर्शनकारीलाई नियन्त्रण गर्न पुरा तयारी गरेको छ । चुनाव परिणामपछि हिंसाको आशंकालाई ध्यानमा राख्दै १६ राज्यमा नेसनल गार्ड तैनाथ गरिएको छ । लस एन्जलस र न्युयोर्क प्रहरीले अशान्ति फैलिन नदिन सुरक्षा ब्यवस्थालाई अत्यन्त सतर्क पारेको छ । मंगलबारदेखि ती सहरमा प्रदर्शनका लागि धेरै समुह जम्मा भइरहेको बताइएको छ ।