पैगम्बर कार्टुन विवादः मुस्लिम जगत्मा फ्रान्सविरुद्ध व्यापक प्रदर्शन

0
Shares

पेरिस, दुबई, (एजेन्सी)
फ्रान्सको निस शहरस्थित एक चर्चमा तीनजनाको निर्मम हत्यापछि राष्ट्रपति इम्यानुएल म्याक्रोंले कडा नीति तथा विवादास्पद टिप्पणीका कारण मुस्लिम देशमा आक्रोश र हिंसा फैलिएको बताएका छन्। पाकिस्तान, लेबनानदेखि प्यालेस्टाइन क्षेत्रसहित कैयौं स्थानमा हजारौं मुसलमान फ्रान्सविरुद्ध सडकमा ओर्लेका छन्। फ्रान्सका राष्ट्रपतिले पैगम्बर मोहम्मदको कार्टुन छापिएको सम्बन्धमा अभिव्यक्तिको अधिकारको रक्षा गर्ने संकल्प लिएपछि मुस्लिम जगत्मा त्यसको व्यापक विरोध भएको हो।
पाकिस्तानको राजधानी इस्लामाबादमा करिब २ हजार प्रदर्शनकारी फ्रान्स दूतावासतर्फ जाने प्रयास गर्दा प्रदर्शन हिंसात्मक बन्न पुगेको थियो। पाकिस्तानी प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न अश्रु ग्यास तथा लाठी प्रहार गरेको थियो। पाकिस्तानको लाहोरमा प्रदर्शनकारीले नाराबाजीसँगै सडक अवरुद्ध पारेका छन्। मुल्तानमा प्रदर्शनकारीले फ्रान्सका राष्ट्रपति म्याक्रोंको पुतला पनि जलाएका छन्।
त्यसैगरी, जेरुसेलममा सयौं प्यालेस्टिनीले अल अक्सा मस्जिदबाहिर म्याक्रोंविरुद्ध प्रदर्शन गरेका छन्।। उक्त प्राचीन शहरमा इजरायली प्रहरी र प्रदर्शनकारी युवाबीच भिडन्त भएको छ। भीड नियन्त्रणका क्रममा तीनजनालाई हिरासतमा लिएको प्रहरीले बताएको छ।
लेबनानको राजधानी बेरुतमा पनि म्याक्रोंविरुद्ध व्यापक प्रदर्शन भएको छ। त्यसैगरी, बंगलादेशको राजधानी ढाकामा भएको विरोध प्रदर्शनमा करिब ५० हजार सहभागी भएका थिए। प्रदर्शनकारीले म्याक्रोंको पुतला पनि जलाएका छन्। प्रदर्शनकारीले नस्लवाद रोक्न, इस्लामविरुद्ध घृणा रोक्न नाराबाजी गरेका हुन्। प्रदर्शनका क्रममा फ्रान्सका उत्पादन बहिष्कार गर्न पनि अपिल गरेको बताइएको छ।
भारतको मध्यप्रदेशको राजधानी भोपालमा पनि फ्रान्सको घटनालाई लिएर विशाल प्रदर्शन भएको छ। प्रदर्शनकारीले फ्रान्सका राष्ट्रपतिको पोस्टर जलाएका थिए।
त्यसैगरी, अफगानिस्तानमा पनि इस्लामी पार्टी हज्ब ए इस्लामीका सदस्यले फ्रान्सको झण्डा जलाएका छन्। बंगलादेश, पाकिस्तान,र कुवेतले गत हप्तादेखि नै फ्रान्सको उत्पादन बहिष्कार गर्न अपिलगरेका छन्। टर्कीले पनि कडा शब्दमा फ्रान्सको आलोचना गरेको छ।